निर्वाचन खर्च र नैतिक आचरणको सन्तुलन

16K
shares
Nabil bank

नेपालको लोकतान्त्रिक प्रक्रियामा निर्वाचन राजनीतिक प्रणालीको नैतिकता र पारदर्शिताको परीक्षा हो। तर आजको निर्वाचनमा अत्यधिक र अपारदर्शी खर्चले नैतिक आचरण र सार्वजनिक विश्वासमा चुनौती उत्पन्न गरेको छ। उम्मेदवारको विजय पैसाको क्षमतामा आधारित हुँदा, नीति, सिद्धान्त र जनहितको मूल्य कमजोर हुँदै जान्छ। यस सन्दर्भमा, निर्वाचन खर्च र नैतिक आचरणबीचको सन्तुलन कायम गर्नु लोकतन्त्रको दीर्घकालीन स्वास्थ्य र जनताको विश्वास सुनिश्चित गर्न अपरिहार्य भएको छ।

लोकतन्त्रको सार जनप्रतिनिधिको नैतिक स्थायित्वमा निर्भर हुन्छ। निर्वाचन भनेको राज्य संरचनामा जनताको इच्छा र विश्वासको औपचारिक अभिव्यक्ति हो। तर जब चुनाव पैसाको प्रतिस्पर्धामा सीमित हुन्छ, तब लोकतन्त्रको वास्तविक मर्म कमजोर हुँदै जान्छ। उम्मेदवारले जित्न खर्च गरेको विशाल रकम शासन प्रणालीलाई नै लगानीमुखी बनाउँछ। खर्च गरिएको पैसा फिर्ता उठाउने र आगामी निर्वाचनको तयारी गर्ने आवश्यकताले जनताको सेवा भन्दा निजी लाभलाई केन्द्रविन्दुमा ल्याउँछ।

वास्तवमा, भ्रष्टाचारको मूलधारा प्रायः निर्वाचनबाटै सुरु हुन्छ। लोकतन्त्रमा मतदाताले जनप्रतिनिधि चयन गर्ने प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्छ। तर जब उम्मेदवारको जीत आर्थिक क्षमतामा निर्भर हुन्छ, तब चुनाव प्रक्रिया स्वतः पैसाको प्रतिस्पर्धामा बदलिन्छ। उद्योग–व्यवसायी, ठूला लगानीकर्ता वा प्रभावशाली समूहले उम्मेदवारलाई प्रदान गर्ने आर्थिक सहयोग भविष्यमा नीति, ठेक्का वा प्रशासनिक निर्णयमा प्रतिफल पाउने लगानी हो। यसले निर्वाचित जनप्रतिनिधिलाई स्वाभाविक रूपमा जनताको हितभन्दा निजी वा आर्थिक हितको दबाबमा राख्छ।

अत्यधिक र अपारदर्शी खर्चले केवल व्यक्तिगत राजनीति होइन, पुरै राजनीतिक प्रणालीको नैतिक आधार कमजोर बनाउँछ। विचार, नीति र जनसरोकार भन्दा प्रचारको भव्यता र खर्चिलो प्रदर्शन प्रधान हुन्छ। यसले योग्य, विचारशील र समाजमैत्री नेता कमजोर बनाउँछ, जससँग पैसाको शक्ति छैन। परिणामस्वरूप, लोकतन्त्र केवल औपचारिकतामा सीमित रहन्छ; जनताको इच्छा र विश्वास संरचनागत रूपमा विकृत हुन्छ।त्यसैले निर्वाचनमा खर्चको पारदर्शिता र सीमांकन मात्र होइन, मतदाताको जागरूकता र मूल्य–आधारित निर्णय लोकतन्त्रको नैतिक धरातल र राज्य संयन्त्रको स्थायित्वका लागि अपरिहार्य छ।

निर्वाचन खर्चको पारदर्शिता र नियन्त्रण नै लोकतन्त्रको संरचनागत आधार हो। छुट्टै बैंक खाता, दाताको विवरणको खुला प्रकटीकरण, स्वतन्त्र लेखापरीक्षण र बलियो निर्वाचन आयोग—यी संरचनागत सुधार बिना निर्वाचन स्वच्छ, निष्पक्ष र न्यायपूर्ण रहन सक्दैन। तर यसभन्दा पनि महत्वपूर्ण पक्ष भनेको मतदाताको चेतना र नैतिक उत्तरदायित्व हो। पैसा, भोज वा व्यक्तिगत लाभमा प्रभावित भएर मतदान गर्ने प्रवृत्तिले विकृत संस्कृतिलाई मात्र पोषण गर्छ।

व्यक्तिगत नैतिकता र आत्मचेतना समाजको विश्वास, सहिष्णुता र न्यायपूर्ण संरचना निर्माण गर्ने आधार हो। चेतनाशील नेता स्वार्थभन्दा माथि उठेर न्याय, समानता र विकासलाई प्राथमिकता दिन्छन्। त्यस्तै, चेतनाशील मतदाताले उम्मेदवारको विचार, नीति, अनुभव र सामाजिक उत्तरदायित्वको मूल्याङ्कन गरेर मतदान गर्छन्।

निर्वाचन खर्च र नैतिक आचरणको सन्तुलन लोकतन्त्रको जीवन रक्षाको माध्यम हो। जब चुनाव पारदर्शी, निष्पक्ष र मूल्य–आधारित हुन्छ, तब मात्र राज्य संरचना सुशासनतर्फ उन्मुख हुन्छ। चेतनाशील नेतृत्व र जागरूक नागरिकको संयोजनले भ्रष्टाचारको मुहान बन्द गर्ने र लोकतन्त्रलाई वास्तविक जनताको आवाज बनाउने क्षमता राख्छ।

मानव जीवन मूल्य, आचरण, चेतना र व्यवहारको निरन्तर रूपान्तरणको साधना हो। जीवनको सार तब प्रकट हुन्छ, जब मानिसले आफ्नो अस्तित्वलाई भौतिक आवश्यकताभन्दा माथि उठाएर नैतिक बोध, आत्मचिन्तन र मानवीय संवेदनासँग जोड्छ। मूल्यविहीन जीवन दिशाहीन हुन्छ र आचरणविहीन मूल्य शब्दमा सीमित रहन्छ। मानव जीवन चेतनाको क्रमिक विकास र आचरणको परिष्करणको यात्रा हो।

मानिस जन्मँदा खाली चेतनाको बीउ बोकेर आउँछ। समय, अनुभव र आत्मबोधले त्यस बीउलाई वृक्ष बनाउँछ। चेतना विकास भनेको आफैँलाई चिन्नु, आफ्ना विचार, भावना र कर्मलाई बुझ्नु तथा तिनको उत्तरदायित्व लिनु हो। जब चेतना परिपक्व हुँदै जान्छ, तब नैतिक आचरण स्वतः जीवनको स्वाभाविक गुण बन्छ। नैतिक आचरण कुनै बाह्य नियम, डर वा दण्डबाट उत्पन्न हुँदैन; यो चेतनाको उज्यालोबाट जन्मिने आन्तरिक अनुशासन हो।

चेतना विकासले मानिसलाई “म” को घेराबाट बाहिर निकालेर “हामी” को विशाल संसारमा प्रवेश गराउँछ। त्यही क्षणदेखि उसका आचरणहरू स्वार्थभन्दा माथि उठ्छन् र सेवा, सहानुभूति तथा जिम्मेवारीमा रूपान्तरित हुन्छन्। आजको युग भौतिक प्रगतिको शिखरमा उभिएको छ, तर चेतनाको गहिराइमा रिक्तता बढ्दो छ। प्रविधि तीव्र गतिमा अघि बढिरहेको छ, तर नैतिकता पछि परेको अनुभूति हुन्छ। यही विसङ्गत अवस्थामा चेतना विकास र नैतिक आचरणको आवश्यकता अझ गम्भीर रूपमा देखापर्छ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा प्रायः कर छली, ठेक्का प्रणाली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याइन्छ। तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका प्रायः निर्वाचनबाटै खुल्छ भन्ने यथार्थ अब बेवास्ता गर्न सकिँदैन। लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको प्रतिस्पर्धामा सीमित हुन्छ, त्यही क्षणदेखि शासन प्रणालीको नैतिक धरातल कमजोर बन्छ र सार्वजनिक हितभन्दा निजी लगानीको प्रतिफल खोज्ने राजनीति संस्थागत हुँदै जान्छ।

निर्वाचन आयोगले उम्मेदवारले अधिकतम कति खर्च गर्न पाउने भनेर सीमा तोक्छ। प्रतिनिधिसभा निर्वाचन२०८२का लागि २२ लाखदेखि ३३ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ। कानुनी दृष्टिले यो सीमा निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउने उद्देश्यसहित हो। तर व्यवहारमा यो कागजमै सीमित छ। प्रचार सामग्री, यातायात, कार्यकर्ता परिचालन, सभा व्यवस्थापन, सामाजिक सञ्जाल प्रचारदेखि मतदाता व्यवस्थापनसम्मका खर्चलाई जोड्दा कानुनी सीमाभित्र निर्वाचन सञ्चालन सम्भव हुँदैन।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजेताको औसत खर्च करिब २ करोड १३ लाख र उपविजेताको १ करोड ४९ लाख रुपैयाँ रहेको अध्ययनले देखाएको छ। कतिपय उम्मेदवारहरूले सार्वजनिक रूपमा आफूले करोडौँ खर्च गरेको स्वीकार गरेका छन्, तर आयोगमा बुझाएको विवरणमा केही लाख मात्र देखिन्छ। यो निर्वाचन प्रणालीभित्र अपारदर्शी खर्च संस्कृतिको प्रमाण हो।

निर्वाचनमा अत्यधिक र अपारदर्शी खर्चले केवल चुनावी प्रतिस्पर्धालाई प्रभावित मात्र गर्दैन; यसले नीति निर्माणको प्रकृति र राज्य संयन्त्रको दिशा नै परिवर्तित गर्छ। जब उम्मेदवारले जित्न करोडौँ खर्च गर्छ, निर्वाचित भएपछि उसमाथि दुई प्रकारको दबाब स्वतः निर्माण हुन्छ—खर्च फिर्ता उठाउने आवश्यकता र आगामी निर्वाचनका लागि अझ ठूलो स्रोत तयार गर्ने जिम्मेवारी। यस अवस्थामा प्रतिनिधि आफ्नो निर्णयमा जनमुखी दृष्टिकोण भन्दा निजी लगानीकर्ताको अपेक्षामा केन्द्रित हुन बाध्य हुन्छ।

निर्वाचन खर्चको स्रोत अस्पष्ट रहँदा, पैसाको प्रभाव र शक्ति संरचनामा अनौपचारिक पहुँचले नै नीति निर्माणलाई प्रभावित बनाउँछ। उद्योग–व्यवसायीको लगानी, लुकेको सम्पत्ति वा अपारदर्शी चन्दा जस्ता स्रोतहरूले लोकतन्त्रमा असमान शक्ति वितरण सिर्जना गर्छ। परिणामस्वरूप, राज्य संयन्त्र क्रमशः जनमुखी होइन, लगानीमुखी बन्न थाल्छ।त्यसैले, लोकतन्त्रको दीर्घकालीन स्वास्थ्य र सार्वजनिक विश्वास सुनिश्चित गर्न निर्वाचन खर्चको पारदर्शिता, स्रोतको खुलासा र कडा लेखापरीक्षण अपरिहार्य छ। मात्र यसरी नै नीति निर्माण जनमुखी, निष्पक्ष र समावेशी बन्न सक्छ, जसले समाजमा विश्वास, न्याय र विकासको वातावरण सिर्जना गर्नेछ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x