धार्मिक चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
वि.सं.२०८२ माघ २४ शनिवार
shares
काठमाडौँ। आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।
अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ।
एक जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखाएको छ ।
ट्रेलरको सबैभन्दा बलियो पक्ष अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय हो । सुरुवाती दृश्यमै अभिनेता प्रविण खतिवडालाई एउटा यस्तो साधुको रूपमा देखाइएको छ जो कुनै दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको छ ।
चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुंगा) र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत ट्रेलरले दिएको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।
निर्देशक सन्तोष कुमार आत्रेयले चलचित्रलाई भव्य र फरक शैलीमा निर्देशन गरेको झलक ट्रेलरमा प्रष्ट देखिन्छ । चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत हो ।
प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।































