पहाडकी रानी बन्दीपुरको सेरोफेरो

1.1K
shares

गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका वार्ड. नं. २ मा अवस्थित सूर्यभक्त पतनादेवी मेमोरियल कलेज (एस.पि.एम.) बाट मिति २०८२ साल माघ २३ गते शुक्रबारका दिन  शैक्षिक अवलोकनीय भ्रमणका लागि २५ जना विद्यार्थीहरूसहित, प्राचार्य, दीपेन्द्र पौडेल सर, स्ववियु सभापति श्याम कुमार बाचे, गाडीका चालक र सहचालक लगायत म शिक्षक लेखक स्वयम् (भूमिका गैरे तिमिल्सिना ) पनि उपस्थित थिएँ।

 

हामी बिहान कलेज प्राङ‌्गणबाट  ६:३० बजे  गाडीमा चढी पहाडकी रानी बन्दीपुरका लागि शैक्षिक अवलोकनीय भ्रमणमा निस्क्यौँ। सुरूमा हाम्रो यात्रा नेपालको सबैभन्दा ठुलो सिद्ध गुफा र एशियाको दोस्रो  ठुलो गुफा  रह्यो । त्यहाँ जानका लागि विमलनगर बजारबाट सानो  पिच बाटो  हुँदै केही माथि उक्यौँ र गाडी पार्किङ गरी खाजा खायौँ । त्यसपछि हाम्रो गन्तव्य सिद्ध गुफा, जसको लम्बाई  ४३० मिटर, उचाई ४५ मिटर रहेछ ।  हामी सिढी मार्ग हुँदै नागबेली बाटो पछ्याउँदै ठाडै उकालो,बाटोको दायाँबायाँ जैविक विविधताले भरिपूर्ण दृश्य कैद गर्दै करिब ३० मिनेटको पैदल यात्रा पछि उक्त गुफामा पुग्यौँ ।

 

तनहुँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठुलो गुफा जुन वि.सं. २०४४ साल चैत्र १३ गते स्थानीय चन्द्र बहादुर थापा मगर, दुर्गाबहादुर थापा मगर, नरबहादुर थापा मगर र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्र गरी ४ जनाको समूहले पत्ता लगाएका रहेछन् । गुफाभित्र चुन ढुङ्‌गा पग्लेर बनेका अनेकौ आकृतिहरू रहेछन् । कतै श्रीपेच जस्ता, कतै भगवानका मूर्ति जस्ता त कतै चराचुरुङ्‌गी र जनावरजस्ता आकृति देखिदा रहेछन् ।

 

ठुला ठुला चट्टान, ढुङ्‌गा रहेको अँध्यारो गुफा तर चिसो महसुस हुने अक्सिजन पर्याप्त भएको, पर्यटकहरू उक्लन र ओर्लन सहज होस् भनी डोरीको व्यवस्था गरिएको रहेछ । गुफा कतै  सम्म परेको त कतै ठाडै उकालो भएको तर ठुलो र लामो रहेछ।

 

गुफाबाट करिब २०० मिटर गएपछि ठूलो बैठक कोठाजस्तो भाग रहेछ । जसमा हिउँदमा विभिन्न संस्थाले गुफाको प्रवर्द्धन गर्न बैठक बस्ने, टेबलटेनिस प्रतियोगिता गर्ने, बेलाबेलामा विभिन्न बैठकहरू बस्ने लगायत साहित्य सम्मेलन गर्ने जस्ता गतिविधि हुँने गर्दा रहेछन् भने वर्षायाममा पानी जम्मा भई सुइमिङ गर्न सकिने रहेछ ।

 

गुफाभित्र चमेराहरु प्रशस्तै रहेछन् । कहीँ छिपछिपे पानी, गुफाभित्र  हाइकिङको पनि व्यवस्था रहेछ ।  गुफामाथि ठुलो प्वाल रहेकाले जङ्‌गलबाट आन्तरिक एवम् बाह्य पर्यटकहरू सिधैँ माथिबाट डोरीको सहायताले गुफाभित्र प्रवेश गर्ने रहेछन् ।

 

तपस्वीले सिद्धि प्राप्त गरेको ठाउँ जहाँ त्रिशूलहरू रहेछन् । शेष नागका आकृति, विभिन्न अलौकिक दृश्यको अवलोकन, गुफामा समय समयमा साधुहरु आएर पूजापाठ तथा साधना गरी बस्दा रहेछन् । विगत बाह्र वर्षदेखि एक पुजारी गुफाभित्र पुजारीका रूपमा पूजा गर्दै आएको कुरा जानकारी भयो ।

 

गुफामा विशेषत: भगवान शिवको पूजाअर्चना गरिने हुँदा साउन महिनामा बोलबमको मेला लाग्ने रहेछ।

 

यो गुफा करिब ३५ सय वर्ष पुरानो रहेको जानकारी भयो । उक्त गुफामा विभिन्न फिल्मको सुटिङ समेत गरिएको रहेछ भन्ने  कुरा गार्ड थापामगर दिदीबाट जानकारी भयो ।

 

गुफाको अवलोकन पश्चात हामी १:०० बजे तल झरी विमलनगरमा  खाना खायौं र हाम्रो गन्तव्य बन्दीपुर २  तनहुँमा रहेको श्री भानु माध्यमिक विद्यालय नजिक थानीमाई जाने बाटोबाट  सिधैँ  माथि २५ मिनटको ठाडै उकालो सिढी मार्ग हुँदै थानीमाई गयौँ । त्यहाँ पुग्दा मन्दिर अहिलेको अवस्थामा  बन्द रहेको थियो ।

 

सल्लाका  ठुला ठुला रुखहरुको शान्त ध्वनि गुञ्जने, वरिपरिको दृश्य छर्लङ्ग देखिने,शान्त, फराकिलो उचाइ‌मा एक थुम्को रहेछ । थानीमाईको मन्दिरबाट सुरू भई  मुकुन्देश्वरी डाँडासम्म निमार्ण गरिएको करिब चार किलोमिटरको मिनी ग्रेटवाल आन्तरिक एवम् वाह्य पर्यटकहरूको रोजाइमा परेको छ। चीनको झल्को दिलाउने मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मणिमुकुन्दसेनले शासन गरेको इतिहास पाइन्छ ।

 

यो डाँडाबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालदेखि पूर्वमा गणेश हिमाल र पश्चिममा लाङ्‌टाङ हिमाल लगायत अनेकौं चुचुराहरू देख्न सकिन्छ। प्राकृतिक सांस्कृतिक एवम् पर्यटकीय सम्भावना रहेको उक्त स्थल आन्तरिक एवम् बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरेको पाइन्छ ।

 

उक्त स्थानको अवलोकन पश्चात हामी तनहुँको बन्दीपुर गाउँपालिका-२ पुरानकोट‌बाट देखिने टुँडिखेल, जुन ठूलो क्षेत्रफलमा फैलिएको छ । वरिपरि पर्वत श्रृङ‌खला, चुचुराहरु देख्न सकिने अत्यन्तै मनमोहक रहेछ। केही पर्यटकहरू घोडसवारीमा रमाइरहेका थिए भने केही सेल्फी खिँच्नमा व्यस्त देखिन्थे ।

 

दुँडिखेलको अवलोकन पश्चात हामीले खाजा खायौँ र हाम्रो गन्तव्य  आँबुखैरेनी – ४ तनहुँमा रहेको ऐना पहरा  ! आँबुखैरेनी २ र ५ को सिमानामा पर्ने पहरा मानव निर्मित संरचना हो। उक्त पहराको झरनाले पवित्रता, किवंदन्ती र प्राकृतिक सौन्दर्य संगमको आभास गराउँछ । आध्यात्मिक शान्ति प्रदान गर्ने, प्रकृ‌तिको काखमा रहेको चारैतिर पहाडले घेरिएको, चट्टानमा विभिन्न आकृति कुँदिएका दृश्यले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउँछ।

 

महाभारत पर्वत शृङ‌्खलाको उच्च भाग २१३४ मिटर उचाईमा माता मनकामना तथा गोरखा कालिका लगायत भगवतीका दिदी बुढीदेवी माई र छिम्केश्वरी माई तनहुँ जिल्ला आँबुखैरेनी गा. पा.वार्ड नं. ५ मा रहेको छ । परापूर्वकालदेखि यस क्षेत्रका बासिन्दाहरूले आफ्‌नो पशुचौपाया‌लाई  वनमा खुला छाड्ने गर्दा पनि चोटपटक लाग्ने वा हराउने नभएकाले उक्त ठाउँमा भगवतीको दर्शन मात्र गर्नाले मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाइन्छ । ऐतिहासिक, पुरातात्विक,, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थान रहेको पाइन्छ ।

 

भनिछ, “जहाँ  शब्द रोकिन्छन, यहाँ कला बोल्छ।” हो पक्कै पनि ती चट्टानमा कलाको अनुपम उदाहरणहरू रहेका छन् । आमा-छोराको प्रेम, जलपरी, हात्तीको विशाल चित्र लगायत अन्य विभिन्न कला प्रकृतिको काखमा कुँदिएका छन् ।

 

आँबुखैरेनी गाउँपालिका वार्ड नं ५ स्थित बुढीदेवी माई र छिम्केश्वरी मन्दिरको इतिहास वि.सं. १३४० को दशकमा स्थापना गरिएको अनुमान गरिन्छ । वि.सं. १७५३ सालमा तनहुँको राजा दामोदर सेनले  आफ्ना नाति, छोरी मल्लिकावतीका छोरा, गोरखाका राजा पृथ्वीपति शाहका नाति युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहलाई गोरखाको राजा बनोस् भन्ने कामनासहित छिम्केश्वरी भगवतीको पूजापाठ गर्न लगाएका थिए । भन्ने किंवदन्ती पाइन्छ। यस ऐतिहासिक भूमिमा आउँन काठमाण्डौं, पोखरा, चितवन, गोरखा लगायत आन्तरिक एवम् बाह्य देशबाट पर्यटकहरू दर्शन  एवम् अवलोकन गर्न आउँने गर्दछन् । पहाडकी रानी भनेर चिनिने बन्दीपुरबाट १ घण्टाको दुरीमा रहेको छिम्केश्वरी मन्दिर दर्शन गरी फर्कन सकिन्छ ।

 

तनहुँ जिल्लाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरी माई मन्दिर  ९२१६५  मिटर  उचाईको काखबाट बग्दै आएको ऐना पहरा झरना  धार्मिक  ऐतिहासिक र प्राकृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ । बुढीमाई, छिम्केश्वरी, मनकामना, गोरखा कालिका, इच्छाकामना, अकला देवी र अन्नपूर्ण यी सात दिदीबहिनी देवीहरु यस झरनामा आई स्नान गदर्थे । झरनाको पानी ऐना जस्तै टल्कने भएकाले उनीहरू यहाँ शृङ्‌‌‌गार गर्ने गरेको जनश्रुति  पाइन्छ । देवीहरूले प्रयोग गरेको यो पवित्र जलमा स्नान गर्दा मानिसको आत्मा शुद्ध हुँने, झरनाको पानी सधैँ सफा,ऐनाजस्तै चम्किलो र स्वच्छ देखिने हुँनाले उक्त पहरालाई ‘ऐना पहरा’ भन्ने गरिएको हो ।

 

धार्मिक आस्था र विश्वासको धरोहर झरना प्रकृतिप्रेमी. तीर्थयात्री तथा पर्यटकहरू‌का लागि प्रमुख आकर्षकको केन्द्र समेत बनेको पाइन्छ । यस ठाउँमा आउँने जो कोहीको पनि मनमा शीतलताको   आभास हुँने, आध्यात्मिक शान्ति, प्राकृतिक सौन्दर्यमा आफूलाई पूर्णतया समर्पित गर्न सक्ने अलौकिक शक्ति रहेको अनुमान गर्न सकिन्छ ।

 

आँबुखैरेनीमा रहेको यो अनुप‌म प्राकृतिक छटाले भरिएको सम्पदा, सांस्कृतिक , धार्मिक एवम् ऐतिहासिक स्थललाई संरक्षण एवम् प्रवर्द्धन गरी पर्यटकहरूको आवागमनलाई दिनप्रतिदिन बढाउन सकियो भने देशले नै प्राकृतिक सुन्दरतामा नयाँ उचाई  चुम्नेछ । नेपालकै पहिचान झल्काउँने यस्ता प्राकृतिक सम्पदाको जगेर्ना गर्नुपर्दछ। ऐना पहराको भुगर्भमा रहेको ऐतिहासिक तथ्यलाई उजागर गरी यस्को महत्व एवम् गरिमा उच्च राख्न उचित प्रचार प्रसारको खाँचो रहन्छ । स्वर्गीय आनन्दको आभास दिलाउँने यस्ता ऐतिहासिक, धार्मिक, सास्कृतिक, पुरातात्त्विक स्थानहरूको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्य हो ।

ऐना पहराको अवलोकन पश्चात हामी घरतर्फ लाग्यौं । सम्पूर्ण विद्यार्थीहरूसहित हामी  राति  ८:०० बजे सकुशल घरमा पुग्यौँ ।

 

एकदिने अवलोकनीय भ्रमणले हाम्रो समिपमा रहेका विभिन्न स्थानहरूको बारेमा नजिकैबाट अध्ययन गर्न र त्यसको महत्त्व बुझ्न सकिन्छ । जुन उचित प्रचारप्रसार नहुँदा ओझेल परेका छन् । त्यहाँको वस्तुस्थिति नियाल्न, धर्म, कला, संस्कार, संस्कृति, प्रत्यक्ष देखेर, बुझेर त्यहाँको गरिमा, विशेषतालाई प्रकाश पार्नु आवश्यक रहन्छ । आजको युग प्राविधिक युग हो, युवाहरू झन प्रविधिसँग नजिक रहेका छन् । तर आफ्‌नै देशमा रहेका, संस्कार, संस्कृति, भूगोल,, रहनसहन, त्यहाँको परिवेशसँग  टाढा भएको अनुमान सहजै लगाउँन सकिन्छ ।

 

विद्यार्थीहरुले पढेका कुरा, विर्सन सक्छन् तर त्यहाँ गएर प्रत्यक्ष अव‌लोकन गरेका दृश्य, स्मृति  सदैव आफ्नो मनसपटलमा कैद गर्न सक्छन् तसर्थ विद्यार्थीलाई किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञान दिनु आजको आवश्यकता हो । शैक्षिक अवलोकनीय भ्रमणले आफ्नो मातृभूमिप्रतिको प्रेम अझ बढ्न सक्ने सम्भावना हुँदा नेपालका कुना कन्दराहरुको अवगत गराई देशप्रतिको प्रेम बढाउँन सकिन्छ । देशमा रहेका विभिन्न सम्भावनाहरु देख्न र बुझ्न सक्छन् । तसर्थ अहिलेका युवाहरुको विदेश पलायनप्रतिको मोह जुन द्रुतगतिले बढेको पाइन्छ त्यसका लागि पनि स्वदेशमा रहेका अथाह सम्भावनाहरुको पहिचान गरी त्यसको महत्त्व बुझाउँन सकियो भने पनि विदेश पलायनको दर केही हदसम्म कम गर्न सकिन्छ। यसमा सम्बन्धित निकाय एवम् सरोकारबालाको ध्यान जानु आवश्यक रहन्छ ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals