प्रजातन्त्रको प्रादुर्भाव
वि.सं.२०८२ फागुन ९ शनिवार
shares
“जब अधिकार खोसिन्छ तब इतिहास जन्मन्छ,
जब मौनता तोडिन्छ तब प्रलय मच्चन्छ।”
अन्यायका विरुद्धमा बोल्दा सत्तामा रहेकालाई असह्य हुँने रहेछ । उनीहरूले हरतरहले आवाज दबाए तापनि टिक्न सकेनन् । भनिन्छ नि, “एक थुकी सुकी सय थुकी नदी ।” एकतन्त्रीय १०४ वर्षे निरङ्कुश जहानियाँ राणा शासन र केही दिनको त्यो आमजनताको बुलन्द आवाज जुन बन्दुक, हतियार र शक्तिभन्दा पनि बलियो बन्यो । हो, त्यहीँ हो, २००७ सालको सशस्त्र क्रान्तिको कथा !
नेपालको इतिहासमा २००७ साल ऐतिहासिक क्रान्ति भएको अत्यन्त महत्त्वपूर्ण वर्ष हो । राणा प्रधानमन्त्रीहरूले देशको सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएर राजालाई त केवल नाममात्रका राष्ट्र प्रमुख बनाएका थिए । वि. सं. २००७ साल फाल्गुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन विरुद्धको सशक्त क्रान्ति सफल भएपश्चात नागरिक अधिकार स्थापना भएको ऐतिहासिक दिन जुन राष्ट्रिय उत्सवका रूपमा प्रत्येक वर्ष फाल्गुन ७ मा मनाइन्छ। प्रजातन्त्र भन्नुको तात्पर्य प्रजाद्वारा, जनताका छोराछोरीले आफ्नो भाग्य आफैं कोर्न पाउने प्रजातान्त्रिक व्यवस्था सुरू भएको दिन हो । उनीहरू शासनमा पुग्न सक्ने स्वतन्त्रताको बाटो खुलेको दिन हो। जुन राष्ट्रिय गौरव र ऐतिहासिक परिवर्तनको मूल आधार पनि हो।
नेपाल प्रजा परिषद र नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्ति जुन तत्कालीन राजा त्रिभुवनको पूर्ण साथ र समर्थन रहेको थियो । तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्वमा भारतको नयाँ दिल्लीमा राणा, काङ्ग्रेस र राजा त्रिभुवनका बिच त्रिपक्षीय सम्झौता भएपश्चात काड्ग्रेसले आन्दोलन स्थगित गरेको थियो ।
लामो समयदेखि भारतमा बसेका त्रिभुवन,छोरा महेन्द्र र नाति विरेन्द्रसहित भारतमा बस्दै आएका राजा २००७ साल फाल्गुन ४ गते नेपाल आई ७ गते प्रजातन्त्रको घोषणा गरेका थिए। त्यस दिनलाई नेपालको आधुनिक इतिहासमा एक युगान्तकारी परिवर्तनको महत्त्वपूर्ण कोशेढुङगाका रुपमा लिइन्छ ।
भारतको दिल्लीमा भएका सम्झौताहरू
– जनताद्वारा निर्वासित विधान सभाको संविधान निर्माण गर्ने
– नेपाली काङ्ग्रेसका ५ जना र राणाका ५ जना गरी १० जनाको अन्तरिक मन्त्री मण्डल गठन गर्ने
– श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पने र वैधानिक राजा त्रिभुवन नै रहने
– फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई विनासर्त रिहा गर्ने
– आन्दोलनकारीहरूले सरकारलाई हतियार बुझाई आन्दोलन रोक्नुपर्ने रहेका थिए।
प्रजातन्त्रको घोषणा पश्चात् राणा र काङ्ग्रेस दुबै पक्षको सहभागिता गराई एक मन्त्री परिषद घोषणा भयो । जसलाई नेपालको अन्तरिम शासन २००७ जारी गरियो । त्यसपछि प्रत्येक वर्ष फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाउँने गरिन्छ।
सुवर्ण शमशेर राणा जुन नेपालका २० औं प्रधानमन्त्री एवम् एक वरिष्ठ राजनीतिज्ञ पनि रहेका थिए। यिनी वि.सं. २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए । राणा परिवारमा जन्मिएता पनि राणाहरूको एकतन्त्रिय शासन व्यवस्थाप्रति खुलेरै विरोध गरेका थिए। राणा विरुद्धको आन्दोलनमा व्यापक रुपमा लागेका सुवर्ण शमशेर राणा काङ्ग्रेसका कोषाध्यक्ष र पछि गएर पञ्चायतकालमा बीपी कोइराला नजरबन्दमा रहदा कार्यवाहक सभापतिसमेत बनेका थिए ।
राजकीय सत्ता र राष्ट्रिय ढुकुटी दुरुपयोग, भोग, विलास र मोजमस्तीमा रमाउँने राणाहरूले नेपाली जनतालाई अशिक्षा, अभाव र त्रासको भुमरीमा राखेका थिए। चरम दमन र शोषण गरी नेपाली जनतालाई दास बनाएका थिए। त्यसका विरुद्ध नेपाली जनताहरुले निरङ्कुश शासनविरुद्ध लामो सङ्घर्ष र बलिदान गर्नुपरेको थियो।
प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षरत शुक्रराज शास्त्री, दशरथ चन्द ठाकुर, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ साल माघमा आफ्नो ज्यान बलिदान दिएका थिए। प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो।
प्रजातन्त्र स्थापनाका लागि सर्वप्रथम आवाज उठाई आफ्नो ज्यान बलिदान दिने चार शहिदहरूलाई राज्यले कहिल्यै भुल्न सक्दैन ।
राणा शासन विरुद्ध सङ्गठित हुँने क्रममा सुरूमा प्रजा परिषद र पछि नेपाली काङ्ग्रेस पार्टीको उदय भयो। तत्कालीन समयमा भारत लगायत अन्य छिमेकी देशहरूमा पनि स्वतन्त्रताका लहरहरु आएका थिए। नेपाली जनताले पनि स्वतन्त्र बन्ने चाहना राखेका थिए । त्यसमा राजा त्रिभुवनले जनताको सङ्घर्षमा पूर्ण समर्थन जनाएका थिए । जनक्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसका महानायक विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए।
तत्कालीन राजा त्रिभुवन राजदरवार र राजपाठ सबै त्यागी सपरिवार भारतीय राजदुतावासमा शरण लिन पुगेका थिए । राणाहरूले राजालाई फर्काउन हरसम्भव प्रत्यत्न गरे तर सकेनन् । राजपरिवार श्री ३ राणाजीको अनुमतिबिना नै भारतको राजधानी दिल्ली पुगेका थिए । त्रिभुवनका नाबालक नाति मामाघरमा बसेका ज्ञानेन्द्र शाहलाई ल्याई राजमुकुट पहिराइयो । उनलाई तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले २००७ साल कार्तिकमा त्रिभुवनको उपस्थिति बिना नै राजा घोषणा गरेका थिए । तर राणाहरूले अन्तराष्ट्रिय समर्थन जुटाउँन नसक्दा चर्को आलोचनाका शिकार बन्न पुगे । चौतफी विरोध भए पश्चात् राणाहरूले जनतासामु घुँडा टेक्न बाध्य भएका थिए ।
यो एक जनताको पहिलो ऐतिहासिक क्रान्ति बन्यो। यहीँ क्रान्तिबाट जनताले राणाहरुको पञ्जाबाट शासकीय वागडोर नेपाली जनताको हातमा आएको दिन थियो। तत्पश्चात आमजनताले मौलिक स्वतन्त्रता हक पाएका थिए ।
प्रजातन्त्र स्थापनाका प्रमुख आधारहरु
– सशस्त्र क्रान्ति: नेपाली काङ्ग्रेसले राणाहरू विरुद्ध हतियार उठाएर जन आन्दोलन सुरू गरेका थिए ।
– राजा र जनताको एकता : राजा त्रिभुवन दिल्ली प्रवासमा रहनु र राणा विरुद्ध जनता सडकमा उत्रिनुले आन्दोलनलाई थप बल पुर्यायो ।
– दिल्ली सम्झौता : राणाहरुको शक्ति हस्तान्तरण भएपश्चात २००७ साल फाल्गुन ७ गते प्रजातन्त्रको स्थापना
७५ औँ प्रजातन्त्र दिवस भर्खरै विभिन्न कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री सुशीला कार्कीद्वारा वीर सहिदहरूको स्मरण गर्दै सांस्कृतिक झाँकीहरू प्रस्तुत गरी मनाइयो । प्रजातन्त्र दिवसका दिन विभिन्न कार्यक्रमहरूको आयोजना गरेर प्रजातन्त्रको स्थापना एवम् पुनः स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने वीर सहिदहरूको योगदानको स्मरण गर्दै दिपावली मनाउँने र राष्ट्रिय झण्डा फहराउँने गरिन्छ । विभिन्न कालखण्डमा व्यवस्था परिवर्तनका निम्ति आफ्नो ज्यान बलिदान दिने वीर सहिदहरूको राष्ट्रप्रेमप्रतिको बलिदान खेर जानु हुदैन । मुलुकलाई सही दिशा दिन वीर सपुतहरूको रगतले लेखिएको इतिहासलाई सदैव स्मरण गरी राज्यपक्षबाट उच्च सम्मान व्यक्त गरिनुपर्छ ।

































