लघुकथा : परिभ्रमण
वि.सं.२०८२ फागुन १६ शनिवार
shares
“परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!” छोरी एकसुरले बर्बराई ।
सङ्गै सुतेकी आमाले नराम्रो सपना देखिछ क्यार भन्दै झक्झकाईन् । उनले हातगोडा मसार्दै सोधिन, ” के भयो, डरलाग्दो सपना आयो र ?”
ऊ झस्किई, एकटकले नजर घुमाई र भनी, ” म कहाँ छु भन्दै गिलासको पानी घटघट पिई ।”
आमाले फेरि स्नेहले सोधिन्, ” के देख्यौ सपनामा, किन डराएकी ? ऐंठन भएर हो ।” उनले सुमसुम्याईन
उसले वृतान्त बताई, ” घनघोर जङ्गलमा युवाहरू अन्याय, बेथिति र भष्ट्राचारका विरुद्धमा लडेका छन् । उनीहरू अहिलेको पुस्ताको मागका कुरा गरेका छन् भने अर्कोतर्फ उनीहरूको आवाज दबाउन खोजिएको छ।” उसले भयभित हुँदै भनी
उनले उदेक मान्दै, ” हैन तैले भदौ २३ र २४ को जेनजी आन्दोलनको नरसंहार त देखिनस् । त्यो इतिहासकै कालो दिन सत्ता परिवर्तनका निम्ति कैयौंले ज्यान गुमाएको, कहालीलाग्दो दिन ।” छोरीको मनसपटलमा गहिरो छाप परेकोमा उनले दु:ख व्यक्त गरिन्
उनले फेरि उपेक्षाले भरिएको गह्रौं स्वरमा भनिन्, ” व्यवस्था परिवर्तनका निम्ति रगतको होलि खेलेका ती युवाहरूको बलिदान तर आज सिष्टम र परिपाटी भने उहीं पुरानै, कतै व्यर्थ जाने त होइन ?” उनले टाउकोमा हात राखेर मौनता साधिन् ।

































