कविता : शून्यको एम्बुस र प्रतिविम्बको आत्महत्या
वि.सं.२०८२ चैत ४ बुधवार
shares
रात छिप्पिँदै जान्छ,
र म आफ्नै कोठाको मौनतामा थुनिन पुग्छु,
जहाँ भित्ताका घडीहरू टिक-टिक गर्दैनन्,
बरु मेरो आयूको एउटा-एउटा त्यान्द्रो लुछिरहन्छन् ।
अगाडि ऐना छ,
जहाँ म आफ्नो अनुहार होइन, एउटा अपरिचित इतिहास देख्छु,
त्यो अनुहार, जो मेरो त हो— तर म जस्तो छैन,
त्यो प्रतिविम्बले मलाई हेरेर व्यङ्ग्यको अट्टहास गर्छ,
र बिस्तारै ऐनाबाट बाहिर निस्केर मेरो कण्ठ निमोठ्न खोज्छ ।
म आफ्नै विचारको एम्बुसमा परिरहेको छु ।
तिमी, जो मेरो स्मृतिमा एउटा ‘सिजोफ्रेनिक’ छाया बनेर बाँचेकी छौ,
हरेक रात मेरो सपनाको सगरमाथाबाट मलाई तल खसालिदिन्छौ,
म खसिरहन्छु— अनन्त शून्यताको गहिराइमा,
जहाँ न भुइँ छ टेक्ने, न आकाश छ समात्ने,
मात्र एउटा संज्ञाहीन डर छ, जो मेरो रगतमा पौडी खेलिरहन्छ ।
के यो मेरो अवचेतनको विद्रोह हो?
या त मेरा दमित इच्छाहरूको हिंस्रक प्रतिशोध?
म आफैँलाई सोध्छु—
“यो शरीरभित्रको म को हुँ?”
एउटा बन्दी, जो आफ्नै मस्तिष्कको न्युरोनहरूमा अल्झिएको छ?
वा एउटा शासक, जो आफ्नै साम्राज्यको भग्नावशेषमा रोइरहेको छ?
म बलात्कृत भइरहन्छु—
अदृश्य समयद्वारा, अतृप्त चाहनाहरूद्वारा,
र ती शब्दहरूद्वारा, जसलाई मैले कहिल्यै उच्चारण गर्न सकिनँ ।
बिहानको उज्यालोले जब मेरो झ्याल ढक्ढकाउँछ,
म एउटा नयाँ लास बनेर ब्युँझन्छु—
जसको खल्तीमा अझै केही अधुरा सपनाका सिसाहरू बाँकी छन्,
र म फेरि एकपटक,
आफ्नै अस्तित्वको मलामी जान तयार हुन्छु

































