लघुकथा : पुस्ता
वि.सं.२०८२ चैत ७ शनिवार
shares
“आमा आमा ! बुवाले किन जनैमा साँचो राख्नुहुन्छ ।” खेलिरहेको छोराले अचानक सोध्यो
उनले, “आफ्नो चिज मदुसमा सुरक्षित अनि गोप्य रहोस् भनेर हो रे क्या !” छोराको मुहारमा दृष्टि घुमाउँदै उसको उत्सुकता मेटाइन् ।
“केछ र त्यस्तो, हामीले हेर्नु हुदैन ? मैले त अहिलेसम्म देखेको छैन ?” उसले अनभिज्ञता जनायो
“किन धेरै चाँसो लिनु परेको होला ? आफैं सोधे भैगो नि !” उनले झिझिएको स्वरले थपिन
“आज मकै छर्ने भनेको खोई, मेसो मिल्ला जस्तो छैन ? म बेँसी झरेर बिउ, मलको जोहो गर्छु अनि दिउँसोतिर मिलाउँनु पर्ला ।” उनले बुढीलाई समस्या बताए
उनले, “हुन्छ तर छिट्टै आउँनुहोस् है !” भन्दै सहमति दिइन् ।
छोराले बुवाको छेउमा आएर भन्यो, “हजुरको सन्दुक खोलेर हेरौँ न । केके रहेछ, त्यसको साँचो हो, जनैमा राखेको ?” उसले जिज्ञासा राख्यो ।
“त्यसमा पुर्खैली चिज छन्, हजुरबा, जिजुबाजेका पालादेखिको नासो छ । मेरो बालापनका यादहरू समेटिएका छन् ।” उनले कोमल भावले सुम्सुम्याउँदै सम्झाए ।
उसले, ” साँचो हराउँला, मलाई पनि दिनु मनि जनैमा राखूँला । जतन गर्नुपर्छ के ?” उसले जिम्मेवारी देखायो
आमा मुसुक्क हाँस्दै छनक कसिन् , “पुस्ता हस्तान्तरण भनेको यहीं होला,बाउको बिँडो छोराले थाम्नु, पारा उहीँ तर शैली फरक !”

































