बालकृष्ण गजुरेलको उपन्यास ‘मञ्जरा’ सार्वजनिक — प्रेम, दर्शन र महिला सशक्तिकरणको समिश्रण

177
shares

 

काठमाडौं । लेखक बालकृष्ण गजुरेल को नयाँ उपन्यास ‘मञ्जरा’ विशेष परिस्थितिमा पारिवारिक वातावरणमै सार्वजनिक गरिएको छ। लेखकका अनुसार बुवाको जटिल स्वास्थ्य अवस्थाका कारण वैशाख १९ गते साधारण तर भावनात्मक ढंगले बिमोचन गरिएको हो।

लेखक गजुरेलले आफ्ना बुवाको स्वास्थ्य अत्यन्त नाजुक रहेको र २४ घण्टा अक्सिजनको आवश्यकता परेकाले औपचारिक कार्यक्रम नगरी घरमै बिमोचन गर्नुपरेको बताए। “न अतिथि, न भव्य कार्यक्रम—तर बाध्यताबीच पनि बुवाको हातबाट कृति सार्वजनिक गर्न पाउँदा यो मेरो लागि विशेष क्षण रह्यो,” उनले भने।

उपन्यास ‘मञ्जरा’ भारतको सिलगुढीस्थित बुकान्त पब्लिकेसन ले प्रकाशन गरेको हो। प्रारम्भिक रूपमा तीन प्रति नमूनाका रूपमा प्राप्त भएसँगै बिमोचन सम्पन्न गरिएको जनाइएको छ।

लेखकका अनुसार उपन्यासमा प्रेम, रोमान्स र महिला सशक्तिकरणलाई केन्द्रमा राखिएको छ भने कथा संरचना सनातन तथा बौद्ध दर्शनमा आधारित छ। महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको यो कृतिले समाजको सकारात्मक सम्भावनालाई उजागर गर्ने प्रयास गरेको उनले बताए।

उपन्यास चाँडै Amazon मार्फत विश्वभर उपलब्ध हुने तयारीमा रहेको छ। साथै, आगामी तीन महिनाभित्र अंग्रेजी संस्करणसमेत प्रकाशन गर्ने योजना रहेको लेखकले जानकारी दिए।

लेखक गजुरेलले राष्ट्रिय स्तरका साहित्यिक व्यक्तित्वहरूसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “यसपटक बाध्यताले सानो दायरामा सीमित रह्यौं, तर छिट्टै व्यापक छलफलसहित पाठकमाझ पुग्नेछौं।”

‘मञ्जरा’ उपन्यासले नेपाली साहित्यमा वैचारिक बहस र दृष्टिकोणको विविधता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals