अध्यात्मको उज्यालोमा मानवीय संवेदनाको विस्फोट

216
shares

  

मानव जीवन चेतनाको गहिराइमा उब्जिएको एउटा अनन्त यात्रा हो। जब यो यात्रा अध्यात्मको उज्यालोसँग ठोक्किन्छ, त्यतिबेला मानवीय संवेदनाहरू अनुभूति भएर सीमित रहँदैनन्—तिनीहरू विस्फोट बन्छन्, परिवर्तनको ज्वाला बन्छन्। आजको युग, जहाँ प्रविधि र प्रतिस्पर्धाले मान्छेलाई बाहिरी सफलता त दिएको छ, तर भित्री शून्यता पनि त्यत्तिकै गहिरो बनाएको छ, त्यही शून्यतालाई चिर्न अध्यात्मको उज्यालो अपरिहार्य बनेको छ।

अध्यात्म यथार्थसँगको सबैभन्दा प्रखर सामना हो। जब मानिस आफ्नो अन्तरात्मामा डुब्छ, उसले अरूको पीडालाई पनि आफ्नै पीडा जस्तो महसुस गर्न थाल्छ। यही अनुभूति हो मानवीय संवेदनशीलताको वास्तविक उद्गम। जब आत्मा जाग्छ, करुणा शब्द रहँदैन, त्यो क्रियामा परिणत हुन्छ। अनि एउटा साधारण व्यक्ति पनि समाजको परिवर्तनकारी शक्ति बन्न सक्छ।

आज संसारमा देखिएका द्वन्द्व, अन्याय र असमानता मानव हृदयको संवेदनहीनताको परिणाम हुन्। जब हृदय कठोर हुन्छ, तब कानूनले मात्र न्याय दिन सक्दैन। तर जब अध्यात्मको उज्यालोले मनलाई स्पर्श गर्छ, त्यतिबेला न्याय कागजमा होइन, व्यवहारमा देखिन्छ। एउटा सानो सहानुभूति, एउटा सच्चा सहयोग, एउटा निष्कपट मुस्कान यी सबै अध्यात्मको उज्यालोमा जन्मिएका संवेदनाका विस्फोटहरू हुन्।

अध्यात्मले मानिसलाई “म” बाट “हामी” तिर लैजान्छ। यसले स्वार्थको सीमालाई तोडेर सहअस्तित्वको मार्ग खोल्छ। जब हामी अरूको दुःखलाई बुझ्न थाल्छौं, तब मात्र हाम्रो मानवता पूर्ण हुन्छ। यही संवेदनशीलता हो जसले समाजलाई विकसित मात्र होइन, सभ्य पनि बनाउँछ।

तर यो यात्रा सजिलो छैन। अध्यात्मको उज्यालोमा प्रवेश गर्न, मानिसले आफ्नो अहंकार, लोभ र अज्ञानसँग लड्नुपर्छ। यो एउटा मौन युद्ध हो, जहाँ शत्रु बाहिर होइन, भित्र लुकेको हुन्छ। जब यो युद्ध जितिन्छ, तब संवेदनशीलता शक्ति बन्छ त्यस्तो शक्ति, जसले हिंसालाई शान्तिमा, घृणालाई प्रेममा, र निराशालाई आशामा रूपान्तरण गर्न सक्छ।

अध्यात्म र मानवीय संवेदनशीलताको संगम नै साँचो मानवताको आधार हो। जब यो संगम विस्फोट हुन्छ, तब सिङ्गो समाज रूपान्तरणको यात्रामा अघि बढ्छ। यो विस्फोट विनाशको होइन, सृजनाको हो—त्यस्तो सृजना, जसले अन्धकारलाई उज्यालोमा, र मानवलाई महामानवमा रूपान्तरण गर्छ।

अध्यात्म र मानवीय संवेदनशीलता बीचको सम्बन्धलाई एउटा नदी र त्यसका सहायक धारहरूको रूपमा बुझ्न सकिन्छ। नदी मुख्य प्रवाह हो अध्यात्म जसले जीवनको लक्ष्य र उद्देश्यलाई परिभाषित गर्छ। सहायक धारहरू करुणा, प्रेम, सहिष्णुता, मेलमिलाप त्यो मुख्य प्रवाहलाई जीवन्त बनाउँछन्। यदि यी धाराहरू सुकेका छन् भने, नदी  एक सुकेको मार्ग मात्र रहन्छ। त्यसैले मानव जीवनमा संवेदनशीलता नभएको अध्यात्म शुष्क र निर्जीव हुन्छ।

अध्यात्म र मानवीय संवेदनशीलता हाम्रो चेतनाको दुई आयाम हुन् एक, आत्मिक उन्नतिको यात्रामा मार्गदर्शक अर्को, सामाजिक र पारिस्थितिक उत्तरदायित्वको आधार। यदि  अध्यात्ममा ध्यान केन्द्रित गरिन्छ र मानवीय संवेदनशीलता बिर्सिन्छ भने, यो स्वार्थपूर्ण आत्मज्ञानमा सीमित रहन्छ। यसको विपरीत, यदि  संवेदनशीलता मात्र छ, तर आत्म-चेतना र धर्मबोध छैन भने, यो  क्षणिक सहानुभूति र भावनात्मक प्रतिक्रिया मात्र रहन्छ। वास्तविक संगम तब मात्र सम्भव हुन्छ जब यी दुई एकअर्कालाई पूरक बनाउँछन्।

अध्यात्म र मानवीय संवेदनशीलता  मानव चेतनाको आधारभूत शक्ति हुन्। प्रेम, करुणा, सहिष्णुता र न्याय यी मूल्यहरू अध्यात्मसँग मेल हुँदा मात्रै मानव जीवन पूर्ण, सन्तुलित र उद्देश्यपूर्ण बन्न सक्छ। यही संगमले व्यक्तिलाई न  आन्तरिक शान्ति र चेतनामा उन्नति दिन्छ, तर समाज र संसारमा सकारात्मक परिवर्तनको मार्ग पनि खोल्दछ।

परम तत्वको खोजी मानव जीवनको मूल उद्देश्य हो, जहाँ आत्मा सत्य, प्रेम र शान्तिको गहिरो अनुभूतिमा विलीन हुन चाहन्छ। संसारिक मोह, काम, क्रोध, लोभ र मोहजस्ता विकारहरूले ढाकिएको मानव चित्त, जब अध्यात्मतर्फ उन्मुख हुन्छ, तब त्यो आत्मा आफ्नो मूलस्वरूप र परम स्रोततर्फ फर्कन थाल्छ।

अध्यात्म चेतनाको उच्चतम अवस्था हो, जहाँ आत्माले परमात्माको साक्षात्कार गर्छ। परम तत्व त्यो अनन्त, अचल र अखण्ड सत्ता हो, जसमा सबै आत्माहरूको आदि र अन्त समाहित छ। प्रेम यसको पहिलो चिन्ह हो जहाँ आत्मा, जात, धर्म, भाषाभन्दा पर, सबैमा एकता देख्न थाल्छ।

अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो र हाम्रो सांस्कृतिक परम्पराको मूल आधार हो। यो ऋषिमुनिहरूको गहन चिन्तनको निचोड र उपनिषद्हरूको दिव्य प्रसाद हो। आत्मा, परमात्मा, जन्म–मृत्यु, माया, पुनर्जन्म आदि विषयमा मानव जिज्ञासालाई समाधान गर्ने अद्भुत साधन अध्यात्म हो।

अध्यात्मिक चिन्तन विवेक र मनो–नियन्त्रणमा आधारित हुन्छ। स्वास्थ्य जीवनका लागि अध्यात्म आवश्यक छ, किनभने आत्मा र शरीरबीच गहिरो सम्बन्ध हुन्छ। मानसिक सन्तुलनले शारीरिक स्वास्थ्यलाई सकारात्मक असर गर्छ। अध्यात्मले चित्तलाई शान्त र स्थिर बनाउँछ, जसले गर्दा रोगहरूप्रति प्रतिरोधात्मक शक्ति पनि बढ्छ।

अध्यात्मले मानवको व्यवहार सुधार गर्छ र असल संस्कारको निर्माण गर्छ। योग र ध्यानजस्ता साधनहरूले एकाग्रता बढाउँछन् र ईष्र्या, द्वेष, घृणा, क्रोधजस्ता नकारात्मक भावनालाई नियन्त्रणमा राख्छन्। आध्यात्मिक ज्ञानको उद्देश्य नै मानिसको भावना र विचारलाई सकारात्मक दिशातर्फ मोड्नु हो।

आज भौतिक विकासका बाबजुद समाजमा हिंसा, अशान्ति र मूल्य–ह्रास बढेको छ, जसको मूल कारण अध्यात्मको अभाव हो। अध्यात्मले मानिसलाई जात, धर्मभन्दा माथि उठाएर सबै प्राणीप्रति प्रेमभाव जागृत गराउँछ।

धार्मिक सबै व्यक्ति आध्यात्मिक हुँदैनन्, तर सबै आध्यात्मिकहरू धार्मिक अवश्य हुन्छन्। अध्यात्मिक चिन्तनले विभाजन होइन, एकताको सन्देश दिन्छ। धर्म कानुन हो भने अध्यात्म जीवनशैली हो, जसले मानवता, नैतिकता र परोपकारलाई मूल मूल्य बनाउँछ।

शान्ति भित्रको शुद्धि र परम समर्पणबाट जन्मिने शाश्वत स्थिति हो। प्रेमले हृदयलाई पगाल्छ, शान्तिले चित्तलाई स्थिर बनाउँछ, र अध्यात्मले आत्मालाई आफ्नो परम स्वरूपमा उजागर गर्छ।जब आत्मा परम तत्वसँग मेल खान थाल्छ, तब संसारको स्वरूप परिवर्तन हुन्छ—दुःखमा पनि आशा देखिन्छ, संघर्षमा पनि करुणा झल्किन्छ, र जीवन स्वयम् एक साधना बन्छ। यही हो परम तत्वको खोजीको सार—जहाँ अध्यात्म, प्रेम र शान्ति एउटै ढोका बन्छन्।

अध्यात्म दर्शन र चिन्तनधारा हो, जसले हाम्रो जीवन र अस्तित्वका बारेमा गहिरो ज्ञान प्रदान गर्छ। यो ऋषि र मनीषिहरूको दार्शनिक चिन्तनको परिणति हो, जसले जीवनको मुलभूत प्रश्नहरूजस्तै आत्मा, परमात्मा, जीव, माया, जन्म–मृत्यु, पुनर्जन्म, सृजन र प्रलयको व्याख्या गर्दछ। अध्यात्मले यी सबै जिज्ञासाहरूको उत्तर दिन्छ र जीवनलाई अर्थपूर्ण बनाउँछ।

अध्यात्मिक बौद्धिकता विवेक र आत्म–चिन्तनबाट उत्पन्न हुन्छ, जसले व्यक्ति आफ्नो मन र शरीरमा नियन्त्रण राख्न सक्षम बनाउँछ। जब एक व्यक्ति आध्यात्मिक ज्ञान र साधनाहरूलाई अपनाउँछ, उसले आत्म–निर्माण र मानसिक स्वास्थ्यका पक्षमा ठूलो परिवर्तन देख्न सक्छ। अध्यात्मले मानिसको भावनात्मक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र यसले जीवनलाई शान्त र स्वस्थ बनाउन मद्दत पुर्याउँछ।

ईष्र्या, द्वेष, घृणा, प्रतिशोधजस्ता भावनाले मानिस र समाजलाई विनाशतर्फ लैजान सक्छन्। यी भावनालाई शान्त गर्न ध्यान, प्रार्थना, साधना, क्षमाशीलता, ममत्व र प्रेमको अभ्यास अत्यन्त उपयोगी हुन्छ। अध्यात्मिक जीवनशैली आत्मशुद्धि र सामाजिक शान्तिका लागि अपरिहार्य छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals