सरकारको सरसफाइ सप्ताहको कुरो निजामती अस्पतालमा फोहोरको थुप्रो

252
shares

काठमाडौं । राजधानीको मुटु बानेश्वरमा रहेको सिभिल सर्भिस अस्पताल कागजमा अत्याधुनिक र व्यवस्थित सरकारी अस्पतालका रूपमा चिनिए पनि वास्तविकता भने चरम अव्यवस्था, फोहोर र प्रशासनिक बेवास्ताले ग्रस्त रहेको पाइएको छ ।

निजामती कर्मचारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको उक्त अस्पताल अहिले बिरामीको उपचारभन्दा बढी दुःख, सास्ती र अव्यवस्थाको प्रतीक बन्दै गएको गुनासो सेवाग्राहीहरूले गरेका छन् ।

अस्पतालभित्रको अवस्था हेर्दा सामान्य सरसफाइसमेत नभएको, ट्वाइलेट दुर्गन्धित रहेको, बिरामी राख्ने कोठाका पर्दा च्यातिएका, टायल फुटेका, बेड बिग्रिएका र चार्जिङ पोइन्ट तथा बत्तीसमेत नचल्ने अवस्था रहेको सेवाग्राहीहरूको आरोप छ ।

रिपोर्ट लिन बिहान ७:४५ बजे लाइन बसेका बिरामीले ८:३० बजेसम्म पनि रिपोर्ट नपाउने अवस्था रहेको गुनासो छ । “लाइन मिलाउने मान्छे नै छैन, बिरामीको व्यवस्थापन अस्तव्यस्त छ,” एक सेवाग्राहीले आक्रोश व्यक्त गरे ।

अस्पताल परिसरको पार्किङ क्षेत्र फोहोरले भरिएको, चमेना गृहको अवस्था दयनीय रहेको तथा अस्पतालभित्र प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोग भइरहेको आरोपसमेत उठेको छ ।

सेवाग्राहीहरूका अनुसार करोडौँ रुपैयाँका उपकरण खरिद गरिए पनि प्रयोगविहीन अवस्थामा थन्किएका छन् । एमआरआई मेसिन भएर पनि पर्याप्त सेवा उपलब्ध छैन भने भिडियो एक्सरेलगायतका आवश्यक उपकरण अभावमा बिरामीलाई निजी अस्पताल धाउन बाध्य पारिएको छ । ब्लड बैंक सेवा प्रभावकारी नभएको र सामान्य परीक्षणसमेत बाहिर पठाइने गरिएको आरोप छ ।

अस्पतालभित्र प्रशासनिक कर्मचारी, अस्पताल समिति र विभिन्न निकायबाट काजमा ल्याइएका कर्मचारीबीच समन्वय अभाव हुँदा सेवा प्रवाह थप प्रभावित बनेको बताइएको छ । स्रोतका अनुसार अस्पतालमा करिब ३० जना काजका कर्मचारी भए पनि कार्यक्षमता र जिम्मेवारी प्रभावकारी देखिएको छैन ।

सेवाग्राहीहरूले सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अस्पताल नेतृत्वलाई तत्काल हस्तक्षेप गरी सिभिल अस्पताललाई “अस्पतालजस्तो अस्पताल” बनाउन माग गरेका छन् ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा सिभिल अस्पतालको सेवा विस्तार र स्तरोन्नतिको घोषणा गर्दै आए पनि व्यवहारमा अस्पतालको अवस्था झन् खस्किँदै गएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

निजामती कर्मचारी अस्पतालको सिटी स्क्यान सेवा नै बन्द 

civil hospital
Hams Hospitals