सरकारको दोहोरो चरित्रः एउटा जुवालाई प्रतिबन्ध, अर्कोलाई लाइसेन्स !
वि.सं.२०८३ असार १४ आइतवार
shares
हजारौंले हारेर एक जना जित्नु वा मालामाल हुनु हो जुवा । कानूनले जुवातास खेल्न र खेलाउन बर्जित गरेको छ । कसैले जुवातास खेलेको वा खेलाएको पाइएमा प्रहरीले पक्राउ गर्छ । र, मुद्दा चलाएर कैद र जरिवाना सजाय गरिन्छ । जुवातास त्यस्तो हो, जसले सम्पत्ति त गुम्छ नै सँगै पारिवारिक कहल र आत्महत्याको मुखसम्म पुर्याउँछ ।
सरकारले जुवातासका रुपमा केबल तास, कौडालगायतलाई लिन्छ । तर, योभन्दा खतरनाक जुवा हो, सेयर । अब रोचक कुरा चाँहि यही जुवा अर्थात् सेयर खुलेआम खेल्न दिन्छ सरकार । यतिमात्र होइन, राजस्वसमेत उठाइन्छ । बैंक, वित्तिय संस्था, जलविद्युत, बीमालगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा सेयर निष्काशन गर्दै आएका छन् ।
यही सेयर अहिले बजारमा प्रतिकित्ता साढे २६ सय रुपैयाँमा किनबेच भइरहेको छ । सेयरमा ८३ लाख ६७ हजार सर्वसाधारणले लगानी गरेका छन् । एउटै व्यक्तिले पाँच हजारदेखि अर्बौ लगानी गरेका छन् । उनीहरु दिनहुँ बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार गर्छन् । ढोका बन्द गरेर आँखै नचिम्ली कारोबार गर्छन् । त्यसबीचमा कहाँ के भयो ? उनीहरुलाई मतलब नै रहँदैन ।
आफूले २५ सय कित्तामा किनेको सेयर २६ सय पुग्छ कि पुग्दैन ? चिन्ता पनि हुन्छ । तर, उनीहरुलाई थाहा हुँदैन कि सेयरको मूल्य घटबढ गर्ने अरु नै छन् । ५५–६० जना मुख्य दलालहरुले सेयरको मूल्य बढाउने र घटाउने गर्छन् । उनीहरुले सेयर किन्नेबेला स्वाट्टै मूल्य घटाइन्छ त बेच्नेबेला ह्वात्तै बढाइन्छ ।
तर, सोझासाझा सर्वसाधारण लगानीकर्ता यो कुरा बुझ्दैनन् । उनीहरु त कम्पनीको वित्तिय अवस्थाले सेयरको मूल्य घटबढ हुन्छ भन्ठान्छन् । अनि सेयरको मूल्य बढ्दा मख्ख पर्छन्, घट्दा तनाव लिन्छन् । त्यही तनावले मदिरा सेवन गरिन्छ, परिवारमा झगडा निम्त्याउँछ । सेयरमा लगानी गर्दा धेरैले आफ्नो जायजेथा गुमाएका छन् ।
पुख्र्यौली सम्पत्ति गुमाएका छन् । उल्टै ऋण लागेको छ । परिवारको लथालिंग भएको छ । अन्तिममा तनाव सहन नसकेर उनीहरु आत्महत्याको बाटो रोज्छन् । सरकारले जुवातास खेल्न खेलाउन त प्रतिबन्ध लगायो तर त्योभन्दा खतरनाक जुवा सेयरमा लगानी गर्न भने आफैं लाइसेन्स दिन्छ । अझ भन्नुपर्दा जनता डुबाउन सरकार आफैं लागिपरेको छ ।
सरकार आफैंले जनतालाई आत्महत्याको बाटोमा पुर्याइरहेको छ । सरकार करको लोभमा पर्दा जनता चाँहि मर्नुपर्ने ? सरकारले त नागरिकको सुरक्षा गर्नुपर्ने हो । उनीहरुको धनसम्पत्तिको सुरक्षा गर्नुपर्ने हो । दुर्भाग्य यहाँ त सरकार आफैं जनतालाई मर्न बाध्य बनाउँदैछ । उनीहरुको जायजेथा खोस्दैछ । हुन त सत्तामा रहेकाहरु पनि सेयरका महाखेलाडी हुन् ।
गृहमन्त्री सुधन गुरुङ, अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयरमा करोडौं लगानी गरेका छन् । सेयरबाटै उनीहरुले करोडौं आम्दानी गरेका छन् । अनि आफू मालामाल भएपछि जनता डुबेपनि मरेपनि के मतलब ? पछिल्लो समय सेयरको मूल्य लगातार घटिरहेको छ । ३२ सय पुगिसकेको सेयर २६ सयमा झरिसक्यो । सेयरको मूल्य अझै घट्ने बताइन्छ ।
मूल्य घट्न थालेसँगै लगानीकर्ताहरु चिन्तित छन् । बजारमा अधिकांश मानिसहरु निराश देखिन्छन् । कारण एउटै हो, सेयरको मूल्य घट्नु । भट्टी पसलमा बिहानैदेखि भीड हुन्छ, लगानीकर्ताहरुको । एकातिर जागिर छैन, अर्कोतिर पुख्र्यौली सम्पत्ति बेचेर वा ऋण लिएर सेयरमा गरिएको लगानी डुबेपछि कतिपय डिप्रेसनमा गएका छन्, कोही जाँडरक्सी खाएर ज्यान फ्यालिरहेका छन् । कोही चाँहि झुण्डिएका छन् ।
सरकार भन्छ–कुनै पनि वस्तु वा सेवामा लागतको २० प्रतिशत बढी नाफा खान मिल्दैन । अनि एक सय रुपैयाँ कित्तामा निष्काशन गरिएको सेयर ३२ सयदेखि पाँच हजारमा किनबेच गरिरहँदा सरकार कहाँ थियो ? सरकारले थाहा पाएन कि पाएर पनि चुप लागेको ? यदि राज्यले बेलैमा सेयर एक सय २० रुपैयाँभन्दा बढीमा किनबेच गर्न नपाइने भनेको भए आज जनता डुब्थे न बैंक, वित्तिय संस्थामा संकट आउँथ्यो ।
सेयरजस्तै घरजग्गा, गाडी र सुनमा पनि सरकारले कडाई गरेन । दलालहरुले रोपनीको दश हजार रुपैयाँ नपर्ने खेतीयोग्य जमिन प्लटिङ गरेर आनाकै २५ लाखदेखि १४ करोडसम्ममा बेचे । छिमेकी भारत र चीनबाट ५० हजारदेखि दश लाखमा ल्याइएको सवारीसाधन अटो व्यवसायीहरुले अढाई लाखदेखि २४ करोडमा बेचे । वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ रहेको सुन केही दिनअघि चार लाखमा किनबेच भयो ।
चाँदी पनि दश हजारमा बेचियो । घरजग्गा, गाडी कारोबारमा केही वर्षयता व्यापक मन्दी छ । सात वर्षअघि आनाकै करोडौं पर्ने जग्गा अहिले लाखमा झरिसक्यो । गाडीको पनि मूल्य घटिरहेको छ । किनकि पेट्रोलियम पदार्थको हाहाकार छ । सुनचाँदी त बिक्री नै हुँदैन । बजारमा घरजग्गा, गाडी र सुन बेच्न चाहने थुप्रै भेटिन्छन् तर किन्ने कोही छैनन् ।
यी वस्तु विलासित हुन् । कानूनले नै स्पष्ट भनेको छ । यद्यपि, सरकार आफैंले लगानी गर्न प्रोत्साहन गर्यो । थोरै करको लोभमा सरकारले करोडौं जनता डुबायो । बैंक, वित्तिय संस्थाले पनि घरजग्गा, गाडी, सेयर र सुन धितो राखेर खर्बौ कर्जा प्रवाह गरेका छन् । तर, मूल्य घटेसँगै ऋणीले कर्जा तिर्न सक्दैनौं भनिसके । ऋणीले कर्जा नतिरेपछि अन्तिम विकल्प भनेकै धितो लिलाम हो । त्यो धितोबाट आधा कर्जासमेत उठ्ने अवस्था छैन ।
यसले घरजग्गा, गाडी, सेयर र सुनमा व्यक्तिदेखि बैंक, वित्तिय संस्थासम्मले गरेको लगानी पानीमा बालुवासरह भएको छ । यसमा सबैभन्दा बढी जिम्मेवार चाँहि सरकार छ । सरकार विलासित वस्तुबाट कर उठाउनतिर लाग्दा जनता र वित्तिय संस्थामात्र डुबेनन्, मुलुककै अर्थतन्त्रसमेत धरापमा पर्यो । विडम्बना, अझै पनि राज्यको आँखा खुल्न सकेको छैन ।
अहिलेपनि यी वस्तुमा लगानी कडाई गर्दैन सरकार । यसले डुब्न बाँकी रहेका सर्वसाधारणसमेत डुब्ने चिन्ता बढ्दो छ । त्यसैले, अब सञ्चारमाध्यमले जनतालाई सचेत गराउनुपर्छ । जनताले पनि कुनै पनि क्षेत्रमा लगानी गर्नुपूर्व सोचविचार गर्नुपर्छ । नत्र डुबिएला ।





























