हरित बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारी
वि.सं.२०८३ असार ३२ बिहीवार
shares
काठमाडौं। दिगो विकास र हरित बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कुमारी बैंक लिमिटेड र मिनर्जी इन्निसियटिभ्सबीच रणनीतिक साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की तथा मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार पर्यावरण संरक्षण तथा हरित बैंकिङ प्रवर्द्धनलाई केन्द्रमा राखी समुदायलाई बैंकिङ सेवाका लागि सक्षम बनाउने, बैंकलाई लक्षित समुदायको आवश्यकता अनुरूप क्षमता अभिवृद्धि गर्ने तथा दिगो वित्तीय प्रणाली विकासका विविध आयाममा दुवै संस्थाबीच सहकार्य गरिनेछ।
यस अवसरमा कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीच रहेको दूरी कम गर्न समुदायको वास्तविक अवस्था तथा बैंकिङ जोखिमको संरचनाबारे गहिरो बुझाइ आवश्यक रहेको बताउनुभयो। उहाँले यस साझेदारीले क्षमता अभिवृद्धिलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपालका अग्रणी वाणिज्य बैंकमध्ये एक कुमारी बैंकले आफ्नो देशव्यापी सञ्जालमार्फत यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ। हाल बैंकले २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ तथा १,२३३ पीओएस टर्मिनलमार्फत अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
ग्राहक केन्द्रित सेवा, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक तथा मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित वित्त प्रवर्द्धन, दिगो आर्थिक विकास तथा जलवायु उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





























