उपचारमा लापरवाही गरेका एभरेष्टका डक्टरले क्षतिपूर्ति तिर्दा सिभिल अस्पतालमा भने प्रमुखको कुर्सी ?

546
shares

काठमाडौं । एभरेष्ट अस्पतालका चिकित्सकले उपचारमा लापरवाही गरेको ठहरसहित लाखौं रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय भएकै समयमा नजिकै रहेको सिभिल अस्पतालमा भने उपचारमा लापरवाही गरेका एक चिकित्सकलाई सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी दिने तयारी भएको भन्दै उजुरी परेको छ।

उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेष्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरवाही गरेको ठहर गर्दै जरिवाना तोकेको छ।

उपभोक्ता अदालतले एभरेष्ट अस्पताल र चिकित्सकको उपचारमा लापरवाही पुष्टि गर्दै पीडित पक्षलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। यस्तै प्रकृतिको घटनामा संलग्न रहेको पुष्टि भएका एक चिकित्सकलाई भने अस्पतालको प्रमुख नै बनाउने तयारी रहेको छ।

नेपाल निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक नियुक्तिको अन्तिम चरणमा रहेका क्यान्सर रोग विशेषज्ञ डा. जितेन्द्र परियारको उम्मेदवारीलाई लिएर गम्भीर प्रश्न उठाइएको हो। मन्त्रालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य निकायमा परेको उजुरीमा विगतको चिकित्सकीय लापरवाही, अनुशासनात्मक कारबाही तथा व्यावसायिक आचरणसम्बन्धी विवादका आधारमा उनलाई अस्पतालको नेतृत्व नदिन माग गरिएको उल्लेख छ।

उजुरीमा मुख्य रूपमा वि.सं. २०६८ सालमा चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको एउटा घटनालाई उल्लेख गरिएको छ। थाइराइड क्यान्सरको उपचारका लागि भर्ना भएकी बिरामीको घाँटीको शल्यक्रिया गर्नुको सट्टा पाठेघर निकालिएको आरोप लगाइएको छ। उक्त घटनापछि अस्पताल प्रशासनले छानबिन गरी डा. परियारलाई जिम्मेवार ठहर गर्दै निलम्बन गरेको थियो। त्यसपछि नेपाल मेडिकल काउन्सिलले पनि उनको चिकित्सक इजाजतपत्र ६ महिनाका लागि निलम्बन गरेको थियो।

civil hospital
Hams Hospitals