फाइनल हारपछि भावुक बने स्कालोनी, पत्रकार सम्मेलनमै आँसु रोक्न नसकी बीचमै बाहिरिए
वि.सं.२०८३ साउन ४ सोमवार
shares
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। आफ्नो भविष्यबारे बोल्ने क्रममा उनी आँसु रोक्न नसकी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका हुन्।
४८ वर्षीय स्कालोनीले सन् २०२२ को कतार विश्वकप जिताएपछि अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने लक्ष्य राखेका थिए। तर अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलसँगै स्पेनले उपाधि जित्दै अर्जेन्टिनाको सपना समाप्त गरिदियो।
डिसेम्बरमा आफ्नो सम्झौता सकिने भएकाले भविष्यबारे सोधिएको प्रश्नमा स्कालोनी निकै भावुक देखिए। उनले अर्जेन्टिना फुटबल संघका अध्यक्षसँग छलफल गरेर आफ्नो आगामी निर्णय लिने बताए।
‘म अध्यक्षसँग कुरा गर्नेछु। मैले के गर्न चाहन्छु भन्नेबारे केही सोच बनाएको छु। सम्झौता सकिएसम्म आफ्नो जिम्मेवारी पूरा गर्नेछु। यति ठूलो उपलब्धिपछि अब के गर्ने भन्नेबारे गम्भीर रूपमा सोच्न आवश्यक छ,’ उनले भने।
स्कालोनीले राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर आफ्नो जीवनकै ठूलो सपना भएको उल्लेख गर्दै अध्यक्ष, प्रशिक्षक टोली र खेलाडीहरूप्रति आभार व्यक्त गरे। उनले अन्तिम क्षणसम्म सबैले आफ्नो सम्पूर्ण प्रयास गरेको बताए।
बोल्दै जाँदा उनको स्वर भरिएको थियो। आँसु पुछ्दै उनले भने, ‘मलाई साथ दिनुहोस्, म अघि बढ्न सक्छु कि सक्दिन, थाहा छैन।’
उनले अर्जेन्टिनाको प्रशिक्षक बन्ने अवसर आफू र आफ्नो सहयोगी टोलीले कहिल्यै कल्पना नगरेको भन्दै अब फेरि नयाँ ऊर्जा र नयाँ टोली निर्माण गर्नु चुनौतीपूर्ण हुने बताए।
अन्त्यमा स्कालोनीले पत्रकारहरूसँग क्षमा माग्दै भने, ‘यो निकै पीडादायी छ। म साँच्चै क्षमाप्रार्थी छु।’ त्यसपछि उनी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका थिए।





























