प्रभु बैंकमा ‘सम्बन्ध’को बलमा डेपुटी सीईओ नियुक्तिको तयारी, योग्य कर्मचारी पाखा लगाइएपछि असन्तुष्टि

1.5K
shares

 

काठमाडौं। प्रभु बैंक लिमिटेडले प्राइम कमर्सियल बैंक लिमिटेडका कार्यवहाक डेपुटी जनरल म्यानेजर प्रशान्त डंगोललाई डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को महत्त्वपूर्ण पदमा नियुक्त गर्ने तयारी गरेको छ।

 

बैंकिङ क्षेत्रबाट सेवा अवधि सकिनै लागेका कनिष्ठ कर्मचारीलाई बैंकको महत्वपूर्ण कार्यकारी जिम्मेवारीमा ल्याउने तयारी गरेको बिषयले बैंकभित्रै लामो समयदेखि योग्यता र क्षमताका बावजुत पनि नेतृत्वकै कारण चेपुवामा पर्दै आएका कर्मचारी थप निरास बनेका छन्।

 

डंगोल हाल प्राइम कमर्सियल बैंकमा डेपुटी जनरल म्यानेजरका रूपमा कार्यरत छन्। उनी ५७ वर्ष उमेर पुगेकाले ५८ वर्षे उमेर हदका कारण प्राइम बैंकबाट अवकासमा जाँदैछन्।

 

उनी प्रभु बैंकमा आए भने पुरै कार्यकाल डेपुटी सिईओ र बोर्डले चाहेमा सिईओ समेत बन्नेछन्।

 

डङ्गोललाई प्रभु बैंकको डेपुटी सीईओजस्तो महत्वपूर्ण जिम्मेवारी दिन लागिएको भन्दै बैंकका कर्मचारी र उच्च व्यवस्थापनबीच मतभेदसँगै असन्तुष्टि देखिएको छ।

 

बैंकभित्र योग्य र अनुभवी जनशक्ति हुँदाहुँदै बाहिरबाट, त्यो पनि सेवा अवधि सकिनै लागेका व्यक्तिलाई उच्च व्यवस्थापकीय तहमा ल्याउने तयारीले कर्मचारीको आन्तरिक करिअर प्रणाली, पदोन्नतिको अवसर र संस्थागत सुशासनमाथि प्रश्न उठाइएको छ।

 

डंगोललाई प्रभु बैंकका सञ्चालक अंगिरमान श्रेष्ठको पारिवारिक सम्बन्धका कारण कार्यकारी तहमा ल्याउन खोजिएको बुझिएको छ । डंगोल श्रेष्ठका ज्वाइँ हुन्।

 

त्यसैगरी बैंकका प्रमुख सेयरधनीमध्येका एक तथा एसियन लाइफ इन्स्योरेन्सका अध्यक्ष दीपक श्रेष्ठको समेत दबाबमा उनलाउउ नियुक्ति गर्न लागिएको बताइएको छ। डङ्गोल सिईओ सुमन शर्माका सहपाठी पनि हुन्।

 

पारिवारिक सम्बन्ध एवम् निकटतम सम्बन्धकै आधारमा सार्वजनिक संस्थामा कार्यकारी नियुक्ति हुने हो भने त्यसले बैंकको सुशासन र ‘फिट एन्ड प्रपर टेस्ट’को मापदण्डमाथि नै गम्भीर प्रश्न खडा गर्ने चुनौती देखिएको छ।

 

बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी तथा उच्च व्यवस्थापन तहका नियुक्ति केवल सञ्चालक वा प्रमुख सेयरधनीको इच्छाअनुसार हुने विषय होइन। नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था, संस्थाको सञ्चालक समितिको निर्णय प्रक्रिया, उम्मेदवारको योग्यता, अनुभव, व्यावसायिक क्षमता तथा ‘फिट एन्ड प्रपर’ मापदण्डसमेतलाई ध्यानमा राख्नुपर्ने हुन्छ।

 

तर, बैंकका योग्य कर्मचारीलाई वेवस्ता गर्दै कर्मचारीमै मनोबल गिराउने गरी गर्न लागिएको नियुक्तिले कार्यसम्पादनमा प्रत्यक्ष असर पार्ने आंकलन गरिएको छ।

 

लामो समयदेखि बैंकमै कार्यरत रहेर व्यवस्थापकीय तहमा पुग्ने अपेक्षा राखेका कर्मचारीलाई पाखा लगाएर बाहिरबाट उच्च पदमा नियुक्ति गरिएमा संस्थाभित्रको करिअर पाथ र आन्तरिक प्रतिभा विकासको प्रणाली कमजोर हुने कर्मचारीहरुको बुझाइ छ।

 

‘बैंकभित्रै योग्य कर्मचारी हुँदाहुँदै बाहिरबाट उच्च तहमा नियुक्ति गर्ने हो भने वर्षौंसम्म बैंकमा काम गरेका कर्मचारीले आफ्नो भविष्य कहाँ देख्ने ?’ एक कर्मचारीले प्रश्न गरे।

 

उनका अनुसार यस्तो अभ्यास दोहोरिँदै गएमा अनुभवी कर्मचारीको संस्थाप्रतिको प्रतिबद्धता कमजोर हुनेछ । बैंक स्रोतका अनुसार केही कर्मचारीलेसम्भावित नियुक्तिप्रति असन्तुष्टि जनाउँदै राजीनामाको तयारीसमेत गरिरहेका छन् ।

 

यो मात्र होइन, सीईओ सुमन शर्माका नियुक्तिका समयमा पनि यस्तै असन्तुष्टि देखिएको थियो।

 

प्रभु बैंकमा उच्च व्यवस्थापन तहको नियुक्तिलाई लिएर असन्तुष्टि उत्पन्न भएको यो पहिलोपटक भने होइन। यसअघि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा पनि बैंकभित्रभन्दा बाह्य व्यक्तिलाई प्राथमिकता दिइएको भन्दै कर्मचारी तहमा असन्तुष्टि चुलिएको थियो। जसका कारण अहिले पनि बैंकको कार्यसम्पादन प्रभावकारी हुन सकेको छैन।

 

बैंकका कर्मचारीहरुका अनुसार नेतृत्व चयनमा आन्तरिक जनशक्तिको क्षमता र अनुभवभन्दा बाह्य प्रभावलाई प्राथमिकता दिइँदा त्यसले संस्थागत संस्कृतिमै असर पार्न सक्छ। अझ नियामकको दबाब वा प्रभावमा नियुक्ति भएको भन्ने धारणा कर्मचारी तहमा विकास भए त्यसले व्यवस्थापन र कर्मचारी- कर्मचारीबीचको विश्वासको वातावरणलाई थप कमजोर बनाउने उनीहरूको तर्क छ।

 

यस सम्बन्धमा डङ्गोलले भने बैंकबाट मौखिक प्रस्ताव आएको तर आँफुले कन्फर्म गरिनसकेको बताए। उनले भने, – प्रभु बैंकमा जाने कुराकानी चलिरहेको छ तर फिक्स भने भएको छैन। प्राइमबाट राजिनामा दिने भन्ने कुरा भने सत्य हो।”

civil hospital
Hams Hospitals