जेनजी आन्दोलनमा जलेको भनिएको मोटरसाइकल सडकमा गुड्दै, कारोबार मिलाउन अनुकूलको स्टोरकिपर खोजी

318
shares

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएका आन्तरिक व्यवस्थापन शाखाका कर्मचारी टङ्कप्रसाद पाण्डेले लामो समयदेखि कार्यरत स्टोरकिपर लोमस आचार्यलाई पुनः सामान्य प्रशासन मन्त्रालयमा ल्याउन चलखेल गरिरहेको बुझिएको छ।

पाण्डेकै नेतृत्वमा जलेका सामानको मुचुल्का तथा क्षतिको विवरण तयार गरिएको र सोही विवरणसँग सम्बन्धित कामकारबाही मिलाउन आफूअनुकूलका स्टोरकिपरलाई मन्त्रालयमा ल्याउन खोजिएको मन्त्रालयका एक अधिकृतले बताए।

पाण्डे कृषि मन्त्रालयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आएलगत्तै आचार्यलाई मन्त्रालयको जिम्मेवारीमा ल्याउन सक्रिय भएका हुन्। आचार्य यसअघि पनि सामान्य प्रशासन मन्त्रालयमा लामो समय स्टोरकिपरका रूपमा कार्यरत थिए। उनी हालसम्म काठमाडौं उपत्यकाबाहिर जिम्मेवारीमा नखटिएका कर्मचारी रहेको स्रोतको दाबी छ।

मन्त्रालयभित्रका विभिन्न आर्थिक तथा प्रशासनिक गतिविधि मिलाउन तथा आन्तरिक व्यवस्थापनमा सहजता हुने भन्दै पाण्डेले आचार्यलाई पुनः मन्त्रालयमा ल्याउन पहल गरिरहेको बुझिएको छ।

जेनजी आन्दोलनका क्रममा मन्त्रालयमा आगजनी तथा क्षति भएको भन्दै तयार पारिएको सामानको विवरणमाथि पनि प्रश्न उठेको छ। सोही विषयसँग सम्बन्धित कामकारबाही मिलाउन कर्मचारी सरुवाको तारतम्य मिलाइएको हुन सक्ने आशंका मन्त्रालयभित्र गरिएको छ।

मन्त्रालयमा आगलागीबाट जलेको भनी विवरणमा उल्लेख गरिएको बा १ ब ४८११ नम्बरको मोटरसाइकल हाल सडकमा सञ्चालन भइरहेको देखिएको छ।

उक्त मोटरसाइकललाई आगलागीबाट क्षति पुगेको वा जलेको भनी मुचुल्का तथा क्षतिको विवरणमा समावेश गरिएको थियो। तर, सोही मोटरसाइकल हाल सडकमा कुदिरहेको देखिएपछि क्षतिको विवरणको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हो।

त्यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखामा मात्र आगलागी भएको थियो। आन्दोलनकारी मन्त्रालयका अन्य केही क्षेत्रमा प्रवेश गरे पनि व्यापक तोडफोड वा सामान चोरी भएको प्रमाण नदेखिएको स्रोतको दाबी छ।

आन्तरिक व्यवस्थापन शाखाको कार्यकक्षमा १५ वटा ल्यापटप जलेको भनी विवरण तयार पारिएको विषय पनि विवादमा परेको छ। जलेका भनिएका ल्यापटप कुन–कुन कर्मचारीका थिए, ती ल्यापटपको ब्रान्ड, मोडेल, खरिद मिति, सम्पत्ति नम्बर तथा वास्तविक अवस्थाबारे स्पष्ट विवरण खुलाइएको छैन।

मन्त्रालयका केही कर्मचारीले आन्दोलनका क्रममा आफूले प्रयोग गर्दै आएका ल्यापटप आफैंसँग लिएर गएको स्रोतको दाबी छ। यस्तो अवस्थामा १५ वटा ल्यापटप जलेको भन्ने विवरण कसरी तयार गरियो भन्ने प्रश्न उठेको छ।

आगलागीबाट क्षति भएको भनिएका सामग्रीको भौतिक परीक्षण, सम्पत्ति अभिलेख, स्टोर दाखिला तथा जिम्मेवार कर्मचारीको विवरणसँग तुलना नगरी क्षतिको सूची तयार गरिएको हुन सक्ने आशंका गरिएको छ।

मन्त्रालय स्रोतले स्टोरकिपरको नेतृत्वमा तयार गरिएको विवरणका आधारमा लाखौं रुपैयाँ बराबरको सामान क्षति भएको देखाई अनियमितता हुन सक्ने आशंका व्यक्त गरेको छ।

गलत विवरणका आधारमा सरकारी सम्पत्तिको क्षति बढाइचढाइ गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिएको छ। विशेष गरी जलेको भनिएको मोटरसाइकलको वास्तविक अवस्था, १५ वटा ल्यापटपको स्वामित्व तथा सम्पत्ति विवरण, आगलागीबाट क्षति भएको भनिएका अन्य सामग्रीको भौतिक अवस्था र क्षति मूल्यांकन प्रक्रियाको अनुसन्धान गर्नुपर्ने माग उठेको छ।

civil hospital
Hams Hospitals