कर्णालीमा नयाँ सत्ता समीकरण लागू : शाही मुख्यमन्त्री नियुक्त

168
shares

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता समीकरण परिवर्तनसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार नियुक्तिपछि मुख्यमन्त्री शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

मुख्यमन्त्री शाहीले नेकपा (एमाले)को समर्थनमा मंगलबार अपराह्न ५ बजे प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गरेका थिए। आवश्यक बहुमतको समर्थन प्राप्त भएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यसअघि साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सत्ता साझेदारीका लागि राष्ट्रिय सहमति भएको थियो। सोही सहमतिअनुसार कर्णालीमा नयाँ सरकार गठन भएको हो।

शाहीको नियुक्तिसँगै कर्णाली प्रदेशमा नयाँ राजनीतिक समीकरण औपचारिक रूपमा कार्यान्वयनमा आएको छ भने अब मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals