पूर्वमन्त्री अच्युतराज रेग्मीका दुई कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ लोकार्पण
वि.सं.२०८३ साउन १४ बिहीवार
shares
काठमाडौं । नेपालका वरिष्ठ लोकतान्त्रिक नेता, पूर्वमन्त्री तथा पूर्वसांसद अच्युतराज रेग्मीका दुई महत्वपूर्ण कृति ‘जीवन र विचार’ र ‘अतीतमा अच्युत’ एक विशेष समारोहबीच काठमाडौंमा लोकार्पण गरिएको छ ।
गत वर्ष ९७ वर्षको उमेरमा अस्ट्रेलियामा स्वर्गिय भएका रेग्मीको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले उनका अधुरा सपना पूरा गर्दै दुवै पुस्तक सार्वजनिक गरेको हो ।
‘जीवन र विचार’ रेग्मीको आत्मवृत्तान्त हो, जसमा उनले आफ्नो राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन, संघर्ष र जीवनका विभिन्न अनुभवलाई समेटेका छन्। ‘अतीतमा अच्युत’ भने उनीसँग २००३ सालदेखि २०७५ साल सम्म काम गरेका विद्धानहरुको आफ्नो विचार हो । उनीहरु सबै लब्धप्रतिष्ठित व्यक्तिहरु हुन् ।
उनको व्यक्तित्व, योगदान र विचारमाथि दुई दर्जनभन्दा बढी लेखकले लेखेका संस्मरण, विश्लेषण र लेखहरूको संग्रह हो ।
उल्लेखनीय कुरा, रेग्मीले ९३ वर्षको उमेरदेखि लेखन सुरु गरी ९६ वर्ष पुग्दा यी कृतिको लेखन पूरा गरेका थिए। तर पुस्तक प्रकाशित हुनुअघि नै उनी स्वर्गिय भएपछि परिवारले पहिलो पुण्यतिथिमा दुवै कृति एकैसाथ लोकार्पण गरेको हो। कार्यक्रममा रेग्मीकी पत्नी भगवती रेग्मीले आफ्नो यो आफ्नो पहिलो पाईला भएको बताइन् ।
उनले स्वर्गिय पति अच्युतराजले पुर्याएको योगदानको इतिहाँस लामो भएको बताउँदै आगामी दिनमा पनि यी र यस्ता शृखलालाई निरन्तरता दिने बताइन् । उनले भनिन् अच्युतजीका विचार, अनुभव र जीवनदर्शनलाई पुस्तकका माध्यमबाट सम्पूर्ण नेपालीमाझ पु¥याउने चाहना भने अब साकार भयो । तर म यत्तिमा रोकिन्न । उनले भनिन् भोलीका दिनमा पनि हाम्रो परिवारले उहाँका कृतिहरु प्रकाशनमा निरन्तरता दिनेछ ।
लोकार्पण समारोहमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अच्युतराज रेग्मीले नेपाली कांग्रेसको संगठन विस्तार, लोकतान्त्रिक आन्दोलन र राजनीतिक जागरणमा पु¥याएको योगदान अविस्मरणीय रहेको बताए। उनले देश र लोकतन्त्रका लागि संघर्ष गर्दा रेग्मीले निर्वासनसम्मको कठिन अवस्था भोग्नुपरेको स्मरण गरे ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले पनि अच्युतराज रेग्मी बाल्यकालदेखि नै राजनीतिक तथा आध्यात्मिक चेत भएका व्यक्तित्व रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, मानवता र लोकतन्त्रका पक्षमा उनले खेलेको भूमिका अनुकरणीय रहेको बताए। उनले अन्तरिम सरकारमा मन्त्रीका रूपमा सँगै काम गर्दाको अनुभव पनि स्मरण गरे।
त्यस्तै वरिष्ठ पत्रकार जीवराम भण्डारी, डा. सुरेन्द्र केसी, पशुपति शमशेर राणा, डा.माधव भट्टराई, प्रा. डा. खेम कोइराला बन्धुलगायत वक्ताहरूले रेग्मीको सादगी, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता, सफल नेतृत्व क्षमता र कुशल वार्ताकारका रूपमा उनको योगदानको प्रशंसा गरे ।
वक्ताहरूले रेग्मीलाई नेपाली राजनीतिक इतिहासका इमानदार, राष्ट्रप्रेमी र लोकतन्त्रप्रति समर्पित नेताका रूपमा स्मरण गरे। दुवै कृतिको सम्पादन होम भट्टराईले गरेका हुन् भने प्रकाशनको जिम्मेवारी भगवती रेग्मीले सम्हालेकी छन्।
पूर्वमन्त्री रेग्मी जयतु संस्कृतम् आन्दोलन (नेपालको पहिलो विद्यार्थी आन्दोलन २००४) को एक प्रमुख हिस्सा थिए । रेग्मी २००९ सालमा नेपालबाट १० सदस्यी टोली (पहिलो बिद्यार्थी प्रतिधिनी मण्डल) मा महाकवी लक्ष्मी प्रसाद देवकोटासहितको १० जनाको टोली रोमानियाको बार्सामा सम्मिलत भयो । यो यात्रा ३ महिनाको थियो । पछि ५ जनाको टोली चिनसम्म पुग्यो ।
रेग्मी २०१४ सालमा पाल्पाबाट सल्लाहाकार सभाबाट निर्वाचित भएका थिए भने २०१५ सालको पहिलो आमनिर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। साथै, २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीका रूपमा पनि उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। उनका यी दुई कृतिले नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक इतिहास र सार्वजनिक जीवनलाई बुझ्न खोज्ने पाठकका लागि महत्वपूर्ण दस्तावेजका रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।
माओवादीलाई शान्ती वार्तामा सहभागी बनाउनलाई अन्तरधार्मिक शान्ती संघले भूमिका खेलेको थियो । त्यसको अध्यक्ष नै रेग्मी थिए । रेग्मीका पत्नि, ३ छोरी र एक छोरा छन् । उनीहरुले बुबाको सपना साकार पार्ने मुख्य उदेश्यले नै पहिलो वार्षिक पुण्य तिथिका अवसरमा दुई कृति लोकापर्ण गरिएको बताए ।
पहिलो वार्षिकीका अवसरमा बुबाका दुई कृति लोर्कापण गर्दा कैयौँ मान्यजनहरुको उपस्थितीले बुबाको सपना साकार भएको अनुभूती भएको उनीहरुले बताए । परिवारले रेग्मीका अन्य कृतिहरु पनि क्रमश प्रकाशित गर्दै लैजाने पनि उल्लेख गरेको छ ।





























