लोकसेवा आयोगदेखि संवैधानिक निकायमा रहेका कर्मचारी सधैँ सुगममा 

87
shares

काठमाडौँ । लोक सेवा आयोग तथा अन्य संवैधानिक निकायमा समेत केही कर्मचारी लामो समयदेखि कार्यरत रहेको विषयमा सरोकारवाल मन्त्रालयको ध्यान पुगेको छैन । केही कर्मचारी दुई दशकभन्दा बढी समयदेखि एउटै कार्यालय वा निकायमा कार्यरत छन् ।

 

“उपसचिवदेखि शाखा अधिकृत र नायब सुब्बासम्मका कर्मचारी लामो समयदेखि एउटै कार्यालयमा बसिरहेका छन् । तर, उनीहरूको व्यवस्थापन र नियमित सरुवाका विषयमा सरकार वा सम्बन्धित निकायको ध्यान गएको देखिँदैन,” एक कर्मचारीले बताए ।

 

लामो समयदेखि एउटै कार्यालयमा कार्यरत केही कर्मचारीले आफूलाई निजामती सेवा सम्बन्धी सरुवा तथा पदस्थापनका सामान्य मापदण्डभन्दा बाहिर राख्दै आएका छन् । उनीहरू राजनीतिक तथा प्रशासनिक पहुँचकै भरमा वर्षौंदेखि उपत्यकाभित्रका कार्यालयमा बस्न सफल भएका हुन् ।

 

यता, नयाँ सरकार गठन भएपछि काठमाडौं उपत्यकामा लामो समयदेखि कार्यरत कर्मचारीको व्यवस्थापनभन्दा उपत्यकाबाहिरबाट हालै मात्र आएका कर्मचारीलाई पुनः बाहिर पठाउने काममा बढी ध्यान दिइएको गुनासो बढेको छ ।

 

उपत्यकाबाहिरबाट आएका केही कर्मचारीलाई एक वा दुई वर्ष पनि पूरा नहुँदै पुनः उपत्यकाबाहिर सरुवा गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार लामो समयदेखि काठमाडौंमै कार्यरत कर्मचारीलाई भने नचलाइने, तर भर्खर उपत्यकामा आएका कर्मचारीलाई मात्र छानीछानी बाहिर पठाउने प्रवृत्ति देखिएको छ ।

केही कर्मचारीले आफूहरूलाई दुई वर्षसमेत पूरा नहुँदै फाजिलमा राख्ने अवस्था सिर्जना गरिएको गुनासो गरेका छन् ।

लामो समयदेखि आयोग तथा मन्त्रालयमा कार्यरत केही कर्मचारीले पुनः सोर्सफोर्स र प्रभाव प्रयोग गरी उपत्यकाभित्रै बस्ने वातावरण मिलाउँदै आएका छन् । सामान्य प्रशासन मन्त्रालयका सम्बन्धित महाशाखा तथा शाखाले समेत उनीहरूलाई उपत्यकाबाहिर पठाउनुको सट्टा उपत्यकाभित्रकै एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरेको छ ।

civil hospital
Hams Hospitals