बालेनको उदयभन्दा गगनको पतनमा खुसी हुने कांग्रेस

315
shares

 

काठमाडौं । स्थानीय निर्वाचनअघि पुरानै शैलीको कांग्रेसबाट अघि बढ्न नसकिने निष्कर्षसहित गगन थापालगायत नेताहरूले ‘नयाँ कांग्रेस’ को नारा अघि सारे । र, नेतृत्व परिवर्तन गरे । चौतर्फी आलोचनाको सामना गरिरहेको कांग्रेसलाई त्यस अभियानले केही हदसम्म ऊर्जा दिएको तथ्यलाई नकार्न सकिँदैन । त्यही कारण कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा पुराना दल मध्ये पहिलो बन्न सफल भयो ।

यदि सभापति शेरबहादुर देउवा र उनको समूहले इमानदारीपूर्वक साथ दिएको भए कांग्रेसको परिणाम अझ प्रभावशाली हुन सक्थ्यो । तर, व्यवहार भने त्यसको विपरीत देखियो । जीवनभर देउवाको राजनीतिक सहयात्री बनेका नैनसिंह महर डडेलधुरामा रुख चिन्ह बोकेर चुनावी मैदानमा उत्रिँदा पनि देउवा निकट केही नेताहरूले घण्टी चिन्हमा मतदान गर्न कार्यकर्तालाई संकेत दिएको चर्चा व्यापक बन्यो । यसले महर स्वयंलाई समेत आश्चर्यचकित बनाएको थियो । यो एउटा प्रतिनिधि घटना मात्र हो । देशभर गगनलाई देखाउने नाममा रुख छापेहरु घण्टीको रालो समाउन पुगेको दृष्य सबैले देखेका छन् ।

यस्तै प्रवृत्ति देशका अन्य जिल्लामा पनि देखिएको थियो । कांग्रेसकै नाममा वर्षौंसम्म राजनीति र सत्ताको लाभ लिएका केही नेताहरू रास्वपाको पक्षमा खुलेको दृश्य धेरै कांग्रेसजनका लागि पीडादायी बन्यो । सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेतले घण्टी चिन्हलाई सहयोग गरेको आरोप सार्वजनिक रूपमै लाग्यो । यद्यपि उनले जति नै सहयोग गरे पनि त्यहाँ कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने अवस्था भने थिएन ।
निर्वाचन सकिएको धेरै समय बितिसक्दा पनि कांग्रेसभित्र आत्मसमीक्षा हुन सकेको छैन । बरु अहिले फेरि बीपी कोइरालाका पुत्रलाई अघि सारेर नयाँ शक्ति–सन्तुलन खोज्ने प्रयास भइरहेको छ । सार्वजनिक कार्यक्रममार्फत कांग्रेस विभाजनको संकेत दिने गतिविधिसमेत देखिन थालेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार पूर्णबहादुर, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत पुराना नेताहरूको मुख्य उद्देश्य पार्टीलाई नयाँ उचाइमा पु¥याउनु भन्दा पनि आफ्नै प्रभाव कायम राख्नु हो । पटक–पटक सत्ता र नेतृत्वको अवसर पाइसकेका नेताहरूको यो समूहले कांग्रेसलाई विस्तार गर्न नसके पनि गगन थापाको नेतृत्वलाई कमजोर पार्ने प्रयास भने गर्न सक्छ ।

विडम्बना के छ भने, कांग्रेसभित्र बालेन शाहको उदयभन्दा गगन थापाको सम्भावित पतनमा खुसी हुनेहरूको संख्या धेरै देखियो । बाहिरी प्रतिस्पर्धीभन्दा पनि आन्तरिक प्रतिद्वन्द्वीलाई कमजोर पार्ने मानसिकताले पार्टीलाई सबैभन्दा ठूलो क्षति पु¥याइरहेको छ । इतिहासले पनि आन्तरिक ईष्र्या र गुटगत स्वार्थले कमजोर बनेका दलहरू जनताबाट क्रमशः टाढिँदै गएको देखाएको छ । कांग्रेसले समयमै यो प्रवृत्ति सच्याउन सकेन भने चुनौती केवल नेतृत्वको होइन, पार्टीको भविष्यकै हुनेछ ।

civil hospital
Hams Hospitals