रिक्त एक एसएसपी दरबन्दीमा चार जनाको प्रतिस्पर्धा, कारबाहीमा परेकाहरू पनि दौडमा
वि.सं.२०८३ साउन १९ मंगलवार
shares
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल ५५ वर्षे उमेर हदका कारण साउन १५ गतेदेखि अवकाशमा गएका छन्। उनको अवकाशसँगै रिक्त भएको एक एसएसपी दरबन्दीमा इन्स्पेक्टर ब्याच २०५८ का चार जना प्रहरी अधिकृतबीच प्रतिस्पर्धा देखिएको छ।
नेपाल प्रहरीमा एसएसपी दर्जाको बढुवा तथा पदस्थापन गृहसचिवस्तरीय निर्णयबाट हुने व्यवस्था छ। प्रहरी महानिरीक्षक (आईजीपी) को राय र समन्वयपछि गृहसचिवको अध्यक्षतामा बढुवा समितिको बैठक बसेर निर्णय गरिन्छ।
दाहालसँगै डीएसपीबाट एसपीमा बढुवा भएका १६ अधिकृतमध्ये अधिकांश यसअघि नै एसएसपीमा बढुवा भइसकेका छन्। अब बाँकी रहेका एसपी वासुदेव खतिवडा, प्रजीत केसी, राजकुमार सिलवाल र वीरेन्द्रबहादुर शाही रिक्त पदका दाबेदार हुन्।
यीमध्ये वासुदेव खतिवडाले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत रहँदा र राजकुमार सिलवालले मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा त्रुटिपूर्ण कार्य गरेको भन्दै विभागीय कारबाही भोगेका थिए। त्यसका बाबजुद उनीहरू पनि बढुवाको दौडमा सक्रिय रहेको स्रोत बताउँछ।
वरिष्ठता र सेवा अभिलेखका आधारमा भने वीरेन्द्रबहादुर शाही र प्रजीत केसीलाई बलिया दाबेदारका रूपमा हेरिएको छ। दुवै २०५८ सालका इन्स्पेक्टर ब्याचका अधिकृत हुन् र २०७० साउन ६ गते एकैपटक डीएसपीमा बढुवा भएका थिए। शाही कार्यक्षेत्रमा सधैंका अब्बल अधिकृत हुन् ।
यसको विपरीत, वासुदेव खतिवडा र राजकुमार सिलवाल २०६९ फागुन १३ गते डीएसपीमा बढुवा भएका थिए। खतिवडा असईको ‘पाँचौं टोली’ अन्तर्गत २०५५ कात्तिक १ गते नेपाल प्रहरीमा भर्ना भएका थिए र २०५८ सालमा इन्स्पेक्टरमा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण भएका थिए।
अब बढुवा समितिले वरिष्ठता, कार्यसम्पादन मूल्याङ्कन, सेवा अभिलेख र विभागीय अनुशासनसम्बन्धी विवरणलाई आधार बनाएर रिक्त एसएसपी पदमा कसलाई सिफारिस गर्ने भन्ने विषय चासोका साथ हेरिएको छ।





























