लगानी बोर्डको नेतृत्व अब याङ्कीको हातमा
वि.सं.२०८३ साउन २० बुधवार
shares
काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यावलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उक्यावलाई चार वर्षका लागि लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सीईओ पदका लागि दुई दर्जनभन्दा बढी आवेदक प्रतिस्पर्धामा थिए। सिफारिस समितिले प्रारम्भिक छनोटपछि आठ जनालाई संक्षिप्त सूचीमा राखेको थियो। अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि समितिले याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धितालको नाम सरकारसमक्ष सिफारिस गरेको थियो। तीमध्ये सरकारले उक्यावलाई अन्तिम रूपमा नियुक्त गरेको हो।
याङ्की उक्याव संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी छन्। उनी यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी विकास अर्थशास्त्र तथा सार्वजनिक नीति क्षेत्रकी अनुभवी विज्ञ हुन्।
उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकासका क्षेत्रमा उनको लामो अनुभव रहेको बताइएको छ।
लगानी बोर्ड नेपालको नेतृत्व सम्हाल्दै उक्यावले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, ठूला पूर्वाधार आयोजना अघि बढाउने र लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।




























