ओलीसामु नझुके हिक्मत कार्की, तत्काल राजीनामा नदिने अडानपछि कोशी सरकारलाई निरन्तरता
सिंहदरबार न्यूज
वि.सं.२०८३ साउन २० बुधवार
408 shares
विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनको चर्चा तीव्र भइरहेका बेला मुख्यमन्त्री हिक्मत कार्कीले तत्काल राजीनामा नदिने स्पष्ट अडान लिएपछि उनीकै नेतृत्वमा प्रदेश सरकारले निरन्तरता पाउने भएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको निर्णायक छलफलपछि तत्काल सरकार नफेर्ने निष्कर्ष निकालिएको हो।
बुधबार बालकोटस्थित ओली निवासमा भएको बैठकमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा तथा प्रदेश सचिव राजकुमार भण्डारी सहभागी थिए। बैठकमा प्रदेश सरकारको भविष्यबारे लामो छलफल भए पनि तत्काल नेतृत्व परिवर्तन नगर्ने सहमति बनेको एमाले नेतृत्वले जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हिक्मत कार्कीकै नेतृत्वमा सरकार निरन्तर रहने स्पष्ट पारे।
उनले भने, “तत्कालका लागि हिक्मतजीले नै सरकारको नेतृत्व गर्नुहुन्छ। उपयुक्त समय आएपछि उहाँले जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ।”
छलफलमा पार्टी अध्यक्ष ओलीले भने सरकारको नेतृत्व परिवर्तन गर्ने अधिकार पार्टीकै हुने स्पष्ट सन्देश दिएका छन्। उनले आफूले आवश्यक ठानेको समयमा निर्देशन दिएपछि मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सबैले बिना विवाद पद त्याग्नुपर्ने सर्त राखेको स्रोतले जनाएको छ।
अध्यक्ष खतिवडाका अनुसार बैठकको निष्कर्ष यही हो कि पार्टी नेतृत्वले उपयुक्त समय देखेपछि सबैले निर्देशन पालना गर्नुपर्नेछ।
उनले भने, “अध्यक्षले उपयुक्त वातावरण देख्नुभएको बेला बस्नुपरे बस्ने, छोड्नुपरे छोड्ने भन्ने समझदारी भएको छ।”
यससँगै पछिल्ला केही दिनदेखि कोशी प्रदेश सरकार परिवर्तन हुने, नयाँ समीकरण बन्ने तथा नेतृत्व फेरिने चर्चा तत्कालका लागि रोकिएको छ। मुख्यमन्त्री कार्कीले पद नछाड्ने अडान लिएपछि एमाले नेतृत्वले पनि तत्काल सरकार परिवर्तन नगरी राजनीतिक परिस्थिति हेरेर उपयुक्त समयमा निर्णय गर्ने रणनीति अपनाएको देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णयले तत्काल प्रदेश सरकार स्थिर भए पनि नेतृत्व परिवर्तनको सम्भावना भने पूर्ण रूपमा समाप्त भएको छैन। पार्टी अध्यक्ष ओलीको अन्तिम निर्देशन नै आगामी राजनीतिक समीकरणको निर्णायक आधार बन्ने संकेत देखिएको छ।