फोनिज काठमाडौँको आयोजनामा वृक्षरोपण तथा पदयात्रा सम्पन्न
वि.सं.२०८३ साउन २४ आइतवार
shares
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा वृक्षरोपण तथा फोनिज पदयात्रा सम्पन्न भएको छ ।
फोनिजको २७ औँ स्थापना दिवसको अवसर पारेर आज शनिवार काठमाडौँको साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा तथा विभिन्न गुम्बा तथा मन्दिर परिसरमा वृक्षरोपण गरेका हुन् । काठमाडौँ जिल्ला अन्तरगत फोनिज आवद्ध प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि र विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा साँखुमा भेला भइ बज्रयोगिनी मन्दिर परिसरबाट करिव १७ किलोमिटिरको दूरीमा पदयात्रा गरेका थिए ।
पदयात्रापछि मणिचूड दहमा भएको औपचारिक कार्यक्रममा विभिन्न वक्तहरूले धार्मिक पर्यटन प्रवद्र्धन र संरक्षणमा आदिवासी जनजातिहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कार्यक्रममा बोल्दै शंकरापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष पोते थिङले मणिचूड दहको महत्वबारे प्रकाश पार्दै प्रचारप्रसारको अभाव तथा राष्ट्रिय निकुञ्ज वन क्षेत्रको निश्चित मापदण्डका कारण अझै ओझेलमा परेको बताए । मणिचूड दह र त्यस क्षेत्रमा रहेका हरेक धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै थप व्यवस्थापन गर्न वनसंग जोडिएको कानुनलाई परिमार्जण गर्नुपर्ने धारणा राखे ।
त्यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार वाइबाले निकुञ्जभित्र रहेको मणिचूड दह बौद्ध र हिन्दू दुवै धर्मालम्बीहरू पवित्र तिर्थस्थलको रूपमा मान्दै आएको बताए । विशेष गरि जनजातिजातिको बहुल्यता रहेको त्यस क्षेत्रमा बौद्ध धर्मालम्बीहरूले विभिन्न समयमा पूजापाठ, मोन्लाम लगायत साउन महिने जलयात्रा, जनैपूर्णिमा लगायत साँस्कृतिक पर्वहरू मनाउने भएकोले थप महत्व रहेको बताए । अहिले निकुञ्ज, स्थानीय तह र मन्दिर व्यवस्थापन समितिबीचको समन्वयमा व्यवस्थित बनाउने रणनीति रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय शहिद तथा शान्ति स्मारक पार्क र गोकर्ण यज्ञडोल सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष सुर्दशन सिग्देलले वन, जंगल, जल र जमिनको संरक्षणमा जनजाति समुदायको उल्लेख्य भूमिका रहेको बताउँदै आफ्नो साँस्कृतिक पहिचान र अधिकारसँग जाडिएको क्षेत्रमा राज्यले दुःख दिन नहुने बताए । जनजाति समुदायले विशेष गरि प्रकृतिको पुजा गर्ने चाडपर्वलाई साँस्कृतिक पहिचानको रूपमा विश्वमाझ चिनाउन सफल रहेको बताउँदै राष्ट्रिय शहिद पार्क वन क्षेत्रमा समेत विभन्नि जातजातिको अस्तित्व समेट्ने गरि भिलेजग्रामको निर्माण गरिएको बताए ।
फोनिज बागमति प्रदेश समितिका महासचिव राजु नापितले फोनिजले पत्रकारितालाई आफ्नो पेसागत हकअधिकारमात्र नभएर भाषा, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विशेष योगदान पु¥याउँदै आइरहेको बताए । फोनिज बागमति प्रदेशभित्र पत्रकारहरूलाई एकीकृत गराउँदै समुदायको पहिचान र अधिकार सुनिश्चित गराउन समेत जिल्लासमितिहरूले सक्रियतापूर्वक गतिविधि सञ्चालन गराउँदै आएको बताए ।
त्यस्तै फोनिज संघीय समितिका सचिव सुनिल महर्जनले फोनिज पदयात्राले रमाइलो मात्र नभइ अनुसन्धानका आयाम बुझ्न पाएको बताए । मणिचूडको सुन्दर ऐतिहासिक धार्मिक पर्यटकीय स्थल प्रकृतिप्रेमी र आध्यात्मिक शान्ति चाहनेहरूका लागि विशेष रहने बताउँदै पत्रकारिताको माध्यमबाट प्रचारप्रसारलाई तिब्रता दिनुपर्ने बताए । फोनिजले नेपालभित्र रहेका आदिवासी जनजाति समुदायसंग जोडिएका कला, भाषा, धर्म संस्कृति र पहिचान बोकेका विषयवस्तुहरूको अध्ययन र अनुसन्धान गरि विश्वसामु चिनाउने प्रयास गरिरहेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ जिल्ला समितिका अध्यक्ष भिमबहादुर लामाले सामाजिक एकता र सद्भाव कायम उद्देश्यका साथ फोनिजको २७ औँ स्थापना दिवसलाई सार्थक पार्न पदयात्रा तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको बताए । उनले जनजाति पत्रकारहरूको पेसागत क्षमतालाई दरिलो बनाउन अध्ययन, अनुसन्धान र आलेख लेखनमा सहयोग पु¥याउने उद्देश्यले धार्मिक पर्यटकीय क्षेत्र तथा जनजाति समुदायको साँस्कृतिक तथा धार्मिक महत्व बोकेको क्षेत्र साँखु, बज्रयोगिनी र मणिचूड दहको यात्रा तय गरेको बताए । राज्य र पहुँचवाला समूहहरूबाट आदिवासी जनजातिहरूको थातथालोमा जलविद्युत गुरूयोजनाहरू सञ्चालन गर्ने, विकास निर्माण र राष्ट्रिय निकुञ्जको नाममा परिवारहरू विस्थापित बनाएको अध्यक्ष लामाले आरोप लगाए ।
फोनिज काठमाडौँ जिल्ला कार्यसमितिका सचिव रत्नमान महर्जनले सञ्चालन गरेको कार्यक्रममा नेपाल प्रहरीका पूर्व डिआइजी देउती गुरूङ, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा सदस्य सुमन लामा, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा उपाध्यक्ष कान्ति न्यौपाने, मणिचूड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम घ्लान, नेपाल बौद्ध धर्म संरक्षण संघका महासचिव उमा गुरूङ, साँस्कृतिक युवा समूहका अध्यक्ष वेचन लामा, समाजसेवी किरण मोक्तान, सोफिया पाख्रिन लगायत अतिथि रहेका थिए । पदयात्रामा फोनिजकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि गरि ६८ जनाको सहभागीता रहेको थियो ।





























