एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
वि.सं.२०८३ साउन २५ सोमवार
shares
काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङ जिल्लामा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।
दुध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित उक्त आयोजनामा एनएमबि बैंक प्रमुख लगानीकर्ता तथा अगुवा बैंकको भूमिकामा रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकको रूपमा सहभागी रहेको छ।
आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ। जसमध्ये बैंक तथा वित्तीय संस्थाबाट करिब ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी हुने जनाइएको छ।
दुध खोला हाइड्रो पावर कम्पनी प्रालिको प्रमुख लगानीकर्ताका रूपमा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा श्री सीताराम तिमिल्सिनाको समूह रहेको कम्पनीले जनाएको छ।
ऋण सम्झौतामा एनएमबि बैंक लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा दुध खोला हाइड्रो पावर कम्पनीका तर्फबाट अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन्।
एनएमबि बैंकले जलविद्युत क्षेत्रमा आफ्नो लगानीलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। बैंकका अनुसार हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ।
वातावरणीय तथा सामाजिक जोखिम मूल्याङ्कन
नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको जनाएको छ।
बैंकले लगानी गर्ने आयोजनाका वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कन गरी जिम्मेवार लगानी सुनिश्चित गर्दै आएको बताएको छ। अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने क्रममा दुध खोला जलविद्युत आयोजनामा Hydro Environmental and Social Sustainability Alliance (HESSA) द्वारा विकसित प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षको अध्ययन तथा मूल्याङ्कन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त प्रक्रियाले आयोजनाको वातावरणीय तथा सामाजिक प्रभाव, जोखिम तथा व्यवस्थापनका पक्षको प्रारम्भिक मूल्याङ्कन गर्न सहयोग पुर्याएको छ।
एनएमबि बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
दुध खोला जलविद्युत आयोजनामा भएको वित्तीय व्यवस्थापनले नेपालको जलविद्युत विकास तथा ऊर्जा उत्पादन विस्तारमा थप योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ।





























