Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

दुई सचिवको एकैपटक राजीनामा, प्रशासनमा तरंग

426
shares

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणी अर्थात् सचिव पदबाट एकैपटक दुई सचिवले राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले सचिव पदबाटै राजीनामा दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार दुवै सचिवको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।

‘दुई सचिवले राजीनामा दिनुभएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,’ प्रवक्ता अर्यालले भने।

विशेषगरी डा. पोखरेलको राजीनामाले निजामती प्रशासनमा थप प्रश्न खडा गरेको छ। उनी साउन १३ गते मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा भएका थिए।

मन्त्रालय सरुवा भएको दुई सातामै सचिव पदबाटै राजीनामा दिएपछि उनको निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पोखरेल यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीका रूपमा कार्यरत थिए। स्रोतका अनुसार आफूलाई राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको विषयमा उनी असन्तुष्ट थिए।

यता सचिव अधिकारी भने आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाँदै थिए। अवकाशको मिति नजिकिँदै गर्दा उनले पनि सचिव पदबाट राजीनामा दिएका हुन्।

डा. पोखरेलको सचिवको कार्यकाल भने २०८४ भदौ २३ गतेसम्म रहेको थियो। कार्यकाल अझै लामो बाँकी हुँदाहुँदै उनले पदबाट राजीनामा दिएपछि निजामती वृत्तमा यसको कारण र पृष्ठभूमिबारे चर्चा सुरु भएको छ।

एकैपटक दुई सचिवले पदबाट राजीनामा दिएसँगै सरकारले सचिव सरुवा, जिम्मेवारी बाँडफाँट तथा प्रशासनिक निर्णय गर्ने शैलीमाथि समेत प्रश्न उठेको छ। विशेषगरी लामो कार्यकाल बाँकी रहेका पोखरेलले छोटो समयमै राजीनामा दिनुपर्ने अवस्था किन आयो भन्ने विषय थप चासोको विषय बनेको छ।

यस घटनाले निजामती प्रशासनमा सरुवा, जिम्मेवारी र कार्यसम्पादनको वातावरणप्रति उच्च तहका कर्मचारीमा देखिएको असन्तुष्टिको संकेत हो वा संयोग मात्रै ? भन्ने प्रश्नसमेत जन्माएको छ।

civil hospital
Hams Hospitals