रास्वपा सिन्धुपाल्चोकमा पूर्वएमाले पक्ष सिनित्तै,सासदकै उम्मेदवारको लज्जास्पद हार
वि.सं.२०८३ साउन २९ शुक्रवार
shares
सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला अधिवेशनमा प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुलीको समर्थन प्राप्त उम्मेदवार कमल खड्का सभापति पदमा पराजित भएकी छन् ।खड्काले ६१ मत मात्र प्राप्त गर्दा पार्टीको जिल्ला गतिविधिमा सुरुदेखि सक्रिय रहँदै आएकी माया गुरुङले १४९ मतसहित सभापतिमा विजय हासिल गरिन् ।
अधिवेशनमा खड्कालाई रास्वपाका केन्द्रीय सदस्य प्रमोद न्यौपाने, प्रतिनिधिसभा सदस्य भरतप्रसाद पराजुली तथा जेपी सिलवाललगायतले समर्थन गरेका थिए । सुरुमा यो समुहले जेपी सिलवाललाई अध्यक्षकोरुपमा अघि बढाएको थियो । तर, पुराना कार्यकर्ताको व्यापक बिरोधपछि सिलवाल मैदानवाट पछि हटेका थिए । सिलवाल हटेपछि खड्कालाई यो समुहले अघि बढायो । त्यसपछि पराजुली पक्षले कमल खड्काको नेतृत्वमा छुट्टै प्यानल बनाएर निर्वाचन लडेको हो । न्यौपाने,पराजुली र सिलवाल एमाले पृष्ठभूमिका हुन् । न्यौपाने र सिलवाल एमाले बिद्यार्थी संगठनको जिल्ला नेतृत्व गरेका व्यक्ति हुन् ।
उपसभापति पदमा उक्त समूहका उम्मेदवार मुके शेर्पाले ४७ मत मात्र प्राप्त गरे भने निर्वाचित सरोजा श्रेष्ठले १२३ मत ल्याइन् । यस्तै, सोही समूहका उम्मेदवार दोर्जे तामाङ पनि सहसचिव पदमा निर्वाचित हुन सकेनन् ।
यस अधिवेशनको नतिजालाई रास्वपा सिन्धुपाल्चोकभित्र पुराना संगठनमा आबद्ध कार्यकर्ता र पछिल्लो समय अन्य दल छोडेर आएका समूहबीचको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ ।





























