बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा
वि.सं.२०८३ भदौ १ सोमवार
shares
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सोमबार बसेको बागमती प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। गत साउन ६ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकमा बहुमत सदस्यको समर्थन जुट्ने अवस्था नरहेपछि बानियाँले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्रै मुख्यमन्त्री बानियाँको पक्षमा रहेका छन्।
मुख्यमन्त्री बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा महत्वपूर्ण काम गरेको दाबी गरे।
उनले अझै धेरै काम गर्न बाँकी रहेको भए पनि बदलिँदो राजनीतिक परिस्थितिका कारण पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको बताए।
एमालेको समर्थन फिर्तापछि अल्पमतमा परेको बानियाँ नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि उनले पद त्यागको घोषणा गरेका हुन्। अब बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच नयाँ समीकरण बन्ने बाटो खुलेको छ।





























