Banner ad for NADA AUTO SHOW -2026

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

168
shares

 

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भएको छ। काठमाडौं महानगरपालिका–३, बालुवाटारमा निर्माण गरिएको नयाँ भवनको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच उद्घाटन गरेका हुन्।

नयाँ भवन उद्घाटनसँगै यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय औपचारिक रूपमा बालुवाटारमा सरेको हो। आफ्नै स्वामित्वको अत्याधुनिक भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकले यसलाई आफ्नो व्यावसायिक यात्राको नयाँ अध्यायका रूपमा लिएको छ।

स्याङ्जाको वालिङबाट २०६४ साल कात्तिक १८ गते वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंकले २०६७ साल वैशाख १ गते पोखराको महेन्द्रपुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते बैंकको केन्द्रीय कार्यालय पोखराबाट काठमाडौंको लाजिम्पाट सारिएको थियो।

नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनका अवसरमा भवन परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सेयरधनी, कर्मचारी तथा ग्राहकको उपस्थिति थियो।

समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको बताए। आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको नयाँ अध्याय सुरु भएको उनको भनाइ थियो।

बैंकको सफल व्यावसायिक यात्रामा लाखौं ग्राहक, हजारौं सेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको सीईओ उपाध्यायले बताए। संस्थागत सुशासन र सरोकारवालाको विश्वासलाई केन्द्रमा राखेर बैंक अघि बढिरहेको उनले उल्लेख गरे।

बैंकका अध्यक्ष दिलीपप्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई आगामी दिनमा थप सशक्त बनाइने उनले बताए।

गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएम मार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आफ्नै स्वामित्वको नयाँ केन्द्रीय कार्यालयबाट सेवा सञ्चालनमा आएसँगै बैंकले आफ्नो संस्थागत क्षमता र सेवा विस्तारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals