Banner ad for NADA AUTO SHOW -2026

काठमाडौंमा भदौ १३ गते ताकुकोटको मौलिक गाईजात्रा, पुस्तौँ पुरानो संस्कृति राजधानीमा प्रदर्शन हुँदै

966
shares

 

काठमाडौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटको मौलिक तथा परम्परागत संस्कृति झल्काउने गाईजात्रा यस वर्ष पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

ताकुकोटबाट काठमाडौं आई विभिन्न पेसा तथा व्यवसायमा आबद्ध स्थानीयवासीको सहभागितामा आयोजना हुँदै आएको गाईजात्रा यस वर्ष भदौ १३ गते बिहान ११ बजे बनस्थली चोकस्थित अक्सफोर्ड ड्राइभिङ सेन्टरको ग्राउण्डबाट सुरु हुने आयोजकले जनाएको छ।

काठमाडौंमा बसोबास गर्ने ताकुकोटका नेवार समुदाय तथा गोरखा ताकुकोट सेवा समाज काठमाडौंको संयुक्त आयोजनामा विगत सात वर्षदेखि नियमित रूपमा गाईजात्रा प्रदर्शन हुँदै आएको छ। जात्रामा ताकुकोटबाट काठमाडौं आएका विभिन्न जातजातिका व्यक्तिहरूको संयुक्त सहभागिता रहने गरेको छ।

यस वर्षको जात्रा बनस्थली चोकस्थित अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट सुरु भई खरिबोट, बल्छी ध्रुवे फुटसल, रानीवन, राधाकृष्ण मन्दिर हुँदै ढुंगेधारा क्षेत्र पुग्नेछ। त्यसपछि पुनः बनस्थली फर्किएर जात्रा समापन गरिने आयोजकले जनाएको छ।

घोडा नाचदेखि टाकटुकेसम्म

ताकुकोटको मौलिक गाईजात्रामा परम्परागत सांस्कृतिक नाच तथा मनोरञ्जनात्मक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछन्। जात्रामा घोडा नाच, चिरेदार, भोटे नाच, टाकटुके, गाईनानीलगायतका प्रस्तुति देखाइनेछ।

घोडा नाचमा बाजाको तालसँगै घोडा जुधाउने तथा उफ्रिने परम्परागत खेल प्रदर्शन गरिन्छ। त्यसैगरी करिब तीन फिट लामा लट्ठी लिएर महिला तथा पुरुषको समूहले मादलको तालमा खेल्ने ‘टाकटुके’ पनि जात्राको विशेष आकर्षण बन्ने आयोजकले जनाएको छ।

महिलाको पोसाकमा बालबालिकालाई सजाएर ‘गाईको नानी’ वा ‘भुसुना’ बनाउने परम्परा पनि जात्रामा देखाइनेछ। विभिन्न भेषभूषामा सजिएका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिनेछन्।

मृतक आफन्तको सम्झनामा गाईजात्रा

जात्रामा वर्षभरिमा मृत्यु भएका आफन्तहरूको सम्झनामा विभिन्न परम्परागत विधि अपनाउने गरिएको समाजका अध्यक्ष तथा जात्रा संयोजक अनुप श्रेष्ठले बताए।

उनका अनुसार महिला आफन्तको मृत्यु भए मानिसलाई सिँगारेर गाई निकाल्ने तथा पुरुषको मृत्यु भए परिवारकै सदस्यलाई सिँगारेर गाई–गोरू निकाल्ने परम्परा ताकुकोटमा रहेको छ।

मृतक आफन्तको सम्झनामा फलफूल खुवाउने, बाजागाजा तथा झुर्मा बजाउने र घोडाको अगाडि विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्ने चलनसमेत रहेको समाजका उपाध्यक्ष राजना बाबु श्रेष्ठले बताए। यस्ता नृत्यमा सहभागी कलाकारलाई स्थानीय भाषामा ‘भोटे’ तथा ‘चिदार’ भन्ने गरिन्छ।

नयाँ पुस्तासम्म संस्कृति पुर्‍याउने प्रयास

समाजका महासचिव धिरज उपरकोटीका अनुसार ताकुकोट सेवा समाजले विसं २०७३ सालदेखि निरन्तर रूपमा काठमाडौंमा गाईजात्रा निकाल्दै आएको छ।

ताकुकोटमा सयौँ वर्षदेखि मनाउँदै आएको मौलिक गाईजात्रालाई काठमाडौंमा समेत निरन्तरता दिँदै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले जात्रा आयोजना गरिएको उनले बताए।

उनका अनुसार प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै गएको गोरखा बारपाक सुलिकोटको छुट्टै संस्कृति र पहिचान बोकेको गाईजात्रालाई राजधानीमा प्रदर्शन गर्दा ताकुकोटको कला, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनसमेत सहयोग पुग्नेछ।

विभिन्न सांस्कृतिक नृत्यमा सहभागी हुन चाहने कलाकार तथा इच्छुक व्यक्तिलाई आयोजकले समयमै सम्पर्क गर्न आग्रह गरेको छ। घोडा नाचका लागि होमनारायण श्रेष्ठ, चिरेदारका लागि शेरबहादुर गुरुङ, भोटे नाचका लागि हिमाल श्रेष्ठ, टाकटुकेका लागि जीवन जोशी तथा गाईनानीका लागि काजीराम श्रेष्ठ, अनुप श्रेष्ठ, राजन बाबु श्रेष्ठ र धिरज उपरकोटीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

यस वर्षको गाईजात्रामार्फत गोरखा ताकुकोटमा पुस्तौँदेखि चल्दै आएको मौलिक संस्कृति र परम्परालाई राजधानीमा निरन्तरता दिँदै संरक्षण गर्ने तथा भावी पुस्तासम्म हस्तान्तरण गर्ने प्रयास गरिएको समाजले जनाएको छ।

civil hospital
Hams Hospitals