८४ नायब सुब्बाको एकैपटक सरुवा, दुई निर्णयबाट जिम्मेवारी हेरफेर
वि.सं.२०८३ भदौ ७ आइतवार
shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ८४ जना नायब सुब्बाको एकैपटक सरुवा गरेको छ।
मन्त्रालयले शुक्रबार दुई छुट्टाछुट्टै निर्णय गर्दै नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो। पहिलो निर्णयबाट ४५ जना र दोस्रो निर्णयबाट ३९ जना गरी कुल ८४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा हुने कर्मचारीमध्ये विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरू समेत रहेका छन्। उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा नयाँ जिम्मेवारी तोकिएको छ।
कार्यालयहरूमा देखिएको कर्मचारी अभाव पूर्ति गर्नुका साथै प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी, चुस्त र व्यवस्थित बनाउने उद्देश्यले सरुवा गरिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले सरुवा भएका सबै कर्मचारीलाई तोकिएको नयाँ कार्यालयमा तत्काल हाजिर हुन निर्देशन दिएको छ।
सरुवा भएका ८४ जना नायब सुब्बाको नाम, हाल कार्यरत कार्यालय र सरुवा भएको नयाँ कार्यस्थलसहितको विस्तृत विवरण मन्त्रालयले दुई छुट्टाछुट्टै सूचीमार्फत सार्वजनिक गरेको छ।
यससँगै विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाको जिम्मेवारी फेरबदल भएको छ भने नयाँ कार्यालयमा कर्मचारी व्यवस्थापनमार्फत सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।





























