Banner ad for NADA AUTO SHOW -2026

सक्षम फर्निचरको ठग्ने काइदा, सेलेब्रेटीको आडमा उपभोक्ता ठग्दै 

सक्षम फर्निचरद्वारा  गुणस्तर मिच्दै उपभोक्ता ठगी,  अनुगमनमाथि समेत प्रश्न

252
shares

काठमाडौं । फर्निचर तथा काठजन्य सामग्री बिक्री गर्दै आएको सक्षम फर्निचरमाथि उपभोक्तालाई भ्रममा पार्ने गरी प्रचार गरेको, गुणस्तरहीन काठ प्रयोग गरेको खुलासा भएको छ ।  खरिद गरिएका सामग्रीमा समस्या आएपछि उपभोक्ताको गुनासो सम्बोधन नगरेको आरोप पनि लागेको छ।

 

सामाजिक सञ्जालमा आकर्षक फोटो तथा भिडियोमार्फत प्रचार गरिने फर्निचर र वास्तविक रूपमा उपलब्ध गराइने सामग्रीको गुणस्तरमा फरक हुने गरेको  छ। विभिन्न प्रकारका काठ प्रयोग गरिएका सामग्रीलाई ब्रान्डिङ तथा प्रचारका क्रममा उपभोक्तालाई भ्रममा पार्ने गरिएको आरोपसमेत लागेको छ।

 

काठमाडौंका रामशरण महर्जन र दुर्लभ थापाले सामाजिक सञ्जालमा राखिएका फोटो तथा भिडियो हेरेर खरिद गरेको सोफामा समस्या आएको बताएका छन्। उनीहरूका अनुसार सोफा प्रयोग गर्ने क्रममा बच्चाले टेक्नेबित्तिकै फुटेको थियो। त्यसपछि सोफा परिवर्तन गरिदिन आग्रह गर्दा समेत फर्निचरले उचित सम्बोधन नगरेको उनीहरूको दाबी छ।

 

उपभोक्ताहरूले फर्निचरको बिक्रीपछिको सेवा र गुनासो सुनुवाइप्रति समेत प्रश्न उठाएका छन्। खरिदपूर्व सामाजिक सञ्जालमा गरिने प्रचार र खरिदपछि प्राप्त हुने वस्तुको गुणस्तरबीच तुलना गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

 

त्यस्तै, फर्निचरले सामाजिक सञ्जाल तथा कन्टेन्ट क्रिएटरमार्फत आफ्ना उत्पादनको व्यापक प्रचार गरिरहेको भए पनि प्रचारमा देखाइने सामग्री र वास्तविक उत्पादनको गुणस्तरबारे सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवाज उठेको छ।

 

फर्निचरको गोदाम तथा भण्डारणस्थल मापदण्डअनुसार छन् कि छैनन् भन्ने विषयमा समेत प्रश्न उठाइएको छ। त्यहाँ कार्यरत केही कर्मचारीले पारिश्रमिक नपाएको गुनासोसमेत छ।

 

विभिन्न सेलिब्रेटी तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूलाई उत्पादन उपलब्ध गराएर प्रचार गर्ने र त्यसैमार्फत बजारमा ब्रान्डको छवि निर्माण गर्ने गरिएको आरोप पनि  छ। यसरी प्रचार गरिएका उत्पादनको वास्तविक गुणस्तर र मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ।

 

फर्निचरविरुद्ध उपभोक्ता ठगी तथा अन्य विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी परेको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सहप्रवक्ता अर्जुन खड्काले त्यस्तो प्रकारको समस्या वा उपभोक्ता ठगी भएको पाइएमा विभागले आवश्यक छानबिन तथा अनुगमन गरी दोषी देखिएमा कानुनअनुसार कारबाही गर्ने बताए।

 

यसैबीच, फर्निचरको पक्ष बुझ्न सामाजिक सञ्जालमा सार्वजनिक गरिएको ९८२-०१०३८९६ नम्बरमा पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

 

उपभोक्ताको रकम लिएर वस्तु बिक्री गर्ने व्यवसायले उत्पादनको वास्तविक गुणस्तर, मूल्य, काठको प्रकार, बिक्रीपछिको सेवा तथा उपभोक्ताको गुनासो सम्बोधनमा पारदर्शिता कायम गर्नुपर्ने हुन्छ। त्यसैले सक्षम फर्निचरमाथि उठेका आरोपबारे सम्बन्धित सरकारी निकायबाट निष्पक्ष अनुगमन तथा छानबिन आवश्यक देखिन्छ।

civil hospital
Hams Hospitals