छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न, सभ्यता पाठशाला टिम च्याम्पियन

71.9K
shares
Nabil bank

काठमाडौं । नेपाली कला, संस्कृति तथा मौलिक नृत्यको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

 

काठमाडौंको धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको सभाहलमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट छनोट भएका कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताका लागि आयोजित अडिसनबाट ६ सयभन्दा बढी विद्यार्थी छनोट भएका थिए।

 

प्रतियोगितामा सभ्यता पाठशाला टिम च्याम्पियन, मिलन धर्मस्थली टिम द्वितीय र काठमाडौं लिंकन स्कुल टिम तृतीय भएका छन्।

 

कक्षागत प्रतिस्पर्धातर्फ कक्षा १ मा विद्यानन्द पब्लिक स्कुलकी साखी बराल प्रथम, विद्योदय इङ्गलिस स्कुलकी स्मारिका साउद द्वितीय र सभ्यता पाठशालाकी एरिका भट्ट तृतीय भए। कक्षा २ मा हिमालय वाल्डर्फकी सुनैरा लम्साल प्रथम, ल्यान्डमार्क एकेडेमीकी अदिति गिरी द्वितीय र सभ्यता पाठशालाकी आकृति पाण्डे तृतीय भए।

 

त्यस्तै, कक्षा ३ मा प्रकृति पाठशालाकी जेनिसा बुढाथोकी प्रथम, मिलन धर्मस्थलीकी सोफिया तामाङ द्वितीय र प्रज्ञान एकेडेमीकी बिपिन्सा डंगोल तृतीय भए। कक्षा ४ मा सभ्यता पाठशालाकी एन्जेल सिम्खडा प्रथम, हिमालय वाल्डर्फकी स्मारिका ढकाल द्वितीय र शौरद्धिपकी शानी लाल कर्ण तृतीय भए।

 

कक्षा ५ मा जिनिएस इङ्गलिस स्कुलकी शिवानी वर्देवा प्रथम, ल्यान्डमार्क एकेडेमीकी आर्या तामाङ द्वितीय र मिलन धर्मस्थलीकी प्रमिशा आले तृतीय भए। कक्षा ६ मा काठमाडौं लिंकनकी जेनिसा लोहनी प्रथम, आरम्भ एकेडेमीकी प्रशिक्षा भुसाल द्वितीय र ल्यान्डमार्क एकेडेमीकी खुस्बु बुढामगर तृतीय भए।

 

कक्षा ७ मा प्रज्ञान एकेडेमीकी सुप्रिया कार्की प्रथम, हिमालय वाल्डर्फ स्कुलकी एमी लामा द्वितीय र मिलन धर्मस्थलीकी सुभाना लामिछाने तृतीय भए। कक्षा ८ मा सभ्यता पाठशालाकी एयरिश कुँवर प्रथम, मिलन धर्मस्थलीकी जानकी भण्डारी द्वितीय र सभ्यता पाठशालाकी साकुरा चालागाईं तृतीय भए। कक्षा ९ मा आरम्भ एकेडेमीकी रेबिशा गुरुङ प्रथम, मिलन धर्मस्थलीकी सिबिका बोगटी द्वितीय र प्रकृति पाठशालाकी अञ्जिला सिम्खडा तृतीय भए।

 

विजेताहरूलाई वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक राजु शाह, चलचित्र विकास बोर्डका सदस्य तथा गीतकार गणेश सुबेदी, नृत्य निर्देशक तथा प्राज्ञ महेश गोदार, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका निवर्तमान क्याबिनेट सचिव ट्रीजा ढकाल, सेरा डिजिटल हबका सिइओ सुबोध रायमाझी तथा ओखती आयुर्वेदिकका प्रबन्ध निर्देशक शोभाकान्त बस्याललगायतले प्रमाणपत्र, ट्रफी, मेडल तथा उपहार प्रदान गरे।

 

प्रतियोगितामा सहभागी विद्यालयहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा संगीतकार तथा गायक रमेश पाठकले सांगीतिक प्रस्तुति दिएका थिए भने शिव कैलाश कला मन्दिरका नृत्य प्रशिक्षार्थीहरूले स्वागत नृत्यमार्फत अतिथि तथा दर्शकलाई स्वागत गरेका थिए।

 

समारोहको अध्यक्षता शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक नारायण रिजालले गरेका थिए भने कार्यक्रम सञ्चालन युनिशा रिजालले गरेकी थिइन्। सो अवसरमा उत्कृष्ट विद्यार्थी, सहभागी विद्यालय तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

 

अध्यक्ष रिजालले नेपाली कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा रहेका प्रतिभाको पहिचान र विकासका लागि प्रतियोगितालाई निरन्तरता दिइएको बताए।

 

“नयाँ पुस्तामा प्रतिभाको कमी छैन, आवश्यकता उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सही मञ्च र अवसर दिनु हो,” रिजालले भने, “यस्ता कार्यक्रममार्फत विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्दै नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउनु हाम्रो उद्देश्य हो।”

 

विगत २५ वर्षदेखि कला तथा नृत्य क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले हालसम्म १ सयभन्दा बढी विद्यालय, कलेज तथा विभिन्न संघसंस्थामा लोकनृत्य प्रशिक्षण तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन र संयोजन गर्दै आएको जनाएको छ।

 

कार्यक्रम संयोजक रोशन बुढाथोकीले प्रतियोगिताले बालबालिका तथा युवा पुस्तामा रहेका नृत्य प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए। उनका अनुसार प्रतियोगिताले विद्यार्थीमा प्रतिभासँगै अनुशासन, आत्मविश्वास र प्रस्तुति क्षमताको विकासमा समेत सहयोग पुर्‍याएको छ।

 

प्रतियोगितालाई ओखती आयुर्वेद, सेरा डिजिटल हब, लायन्स क्लब अफ काठमाडौं दीर्घजीवी तथा विनायक अस्पतालले सहयोग गरेका थिए।

 

आयोजकले आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाउँदै देशभरका बाल तथा युवा प्रतिभालाई अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x