घण्टीघरमा नागरिकका गुनासा सुन्दै रास्वपा केन्द्रीय सदस्य निशा श्रेष्ठ
वि.सं.२०८३ भदौ ९ मंगलवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा नागरिकका गुनासा, समस्या तथा सुझाव सुन्ने कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा रास्वपाकी केन्द्रीय सदस्य निशा श्रेष्ठले कार्यालयमा आएका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुनेकी छन्। विभिन्न क्षेत्रबाट आएका नागरिकले व्यक्तिगत तथा सार्वजनिक सरोकारसँग सम्बन्धित समस्या राख्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए।
श्रेष्ठले नागरिकले उठाएका विषयलाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने बताएकी छन्। उनले जनताका समस्या सुन्नु र त्यसको समाधानका लागि सम्बन्धित निकायमा आवाज उठाउनु राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरिन्।
रास्वपाले पार्टी कार्यालयलाई नागरिकसँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा विकास गर्दै आएको जनाएको छ। नागरिकका गुनासा र सुझावलाई पार्टीको नीति निर्माण तथा सार्वजनिक सरोकारका विषयमा आफ्नो धारणा बनाउनसमेत उपयोग गर्ने रास्वपाको भनाइ छ।
‘घण्टीघर’मा नागरिकसँग प्रत्यक्ष भेटघाट तथा गुनासा सुन्ने क्रमले पार्टी र सर्वसाधारणबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ। नागरिकका दैनिक समस्या, सार्वजनिक सेवा प्रवाह तथा सरकारी निकायसँग जोडिएका विषयमा आउने गुनासालाई प्राथमिकताका साथ सम्बन्धित निकायसम्म पुर्याउने पहल गरिने बताइएको छ।
































