रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बने

8.5K
shares
Nabil bank

 

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय एमएमएमा ऐतिहासिक सफलता हासिल गरेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्। यससँगै उनी रोड टु युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।

‘बझाङ्गी बाघ’ उपनामले परिचित ढाँटले फाइनलमा समेत जित हात पार्न सके प्रतिष्ठित अन्तर्राष्ट्रिय एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।

ढाँटले हालसम्म बान्टमवेट विधामा ११ खेल खेलेका छन्। उनले १० खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि ढाँट थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेका थिए।

रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा पनि ढाँटले प्रभावशाली प्रदर्शन गरेका थिए। गत मे महिनामा मकाउमा भएको उक्त खेलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

सेमिफाइनलमा न्युजिल्यान्डका मर्डकमाथिको जितसँगै ढाँटले नेपाली एमएमएमा अर्को ऐतिहासिक उपलब्धि थपेका छन्। अब उनको लक्ष्य रोड टु युएफसी सिजन–५ को उपाधि जित्दै युएफसीमा प्रवेश गर्ने पहिलो नेपाली फाइटर बन्ने हुनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x