Banner ad for NADA AUTO SHOW -2026

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

90
shares

 

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो ।

नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तिय संस्थाहरु तथाा बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो ।

शोको मुख्य आकर्षण नयाँ मोडलका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधन बने । विभिन्न ब्रान्डले नेपालमा पहिलोपटक नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरे । विद्युतीय सवारीसाधनको उल्लेख्य उपस्थिति रहेको प्रदर्शनीमा नयाँ पुस्ताका ईभी, मोटरसाइकल र स्कुटरसँगै नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले समेत उपभोक्ताको ध्यान ताने । बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल शोका आकर्षण बनेका थिए ।

अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जामा प्रतिस्पर्धा देखियो । बैंकहरूले उपभोक्तालाई आकर्षित गर्न सस्तो ब्याजदर, सेवा शुल्क तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न अफर सार्वजनिक गरेका थिए । केही बैंकले विद्युतीय सवारीसाधनका लागि विशेष कर्जा सुविधा र कम ब्याजदरका योजना अघि सारेका थिए ।

यस वर्षको अटो शो बाढीपहिरोको पीडाका बीच आयोजना गरिएको थियो । शो सञ्चालन भइरहेकै समयमा भोटेकोशी, त्रिशूलीलगायतका नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो । यस्तो अवस्थामा पनि अटो शो निरन्तरता पाउनु उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम र सर्वसाधारणको सहयोग तथा विश्वासको परिणाम भएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवको भन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैँ एउटै ठाउँमा रोकिन नसक्ने बताए । “विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ । तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन,” अध्यक्ष उप्रेतीले भने, “यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौँ । कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुत बनाएको छ ।”

उनले अटो शो केवल सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने र उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताए । नाडाले यस वर्षको शोमा ‘उद्योगदेखि रोजगारसम्म भन्ने अवधारणालाई समेत प्राथमिकता दिएको थियो ।

 

यी हुन् नाडा अटो शोका उत्कृष्ट पाँच स्टल

नाडा अटो शो २०२६ मा उत्कृष्ट स्टलको उपाधि विभिन्न पाँच विधामा प्रदान गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साईमैक्स इन्क प्रांलिको बीवाईडीले(BYD) उत्कृष्ट स्टलको उपाधि पाएको छ ।

त्यस्तै दुईपांग्रे सवारीसाधनतर्फ एमए डव्लु राइड्स प्रा.लिको यामाहा (YAMAHA), कमर्सियल चारपांग्रेतर्फ एनइभि नेपाल प्रा.लिले विक्रि गर्दै आएको दिगोले उत्कृष्ट स्टलको उपाधि पाएको छ । त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदि अटोपार्टस् प्रा.लिले राखेको मिशेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको छ ।

उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो ।

civil hospital
Hams Hospitals