बनेपामा नक्कली अटो पार्टपूर्जाको ठूलो धन्दा पर्दाफास, पोते पक्राउ
वि.सं.२०८३ साउन २२ शुक्रवार
shares
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस् आयात गरी खुलेआम बिक्री वितरण हुँदै आएको घटना प्रहरीले पर्दाफास गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिको पसल तथा विभिन्न गोदाममा छापा मार्दै ठूलो परिमाणमा नक्कली पार्टपूर्जा बरामद गरेको हो ।
प्रहरीको कारबाहीका क्रममा कम्पनीका सञ्चालक राजकुमार पोते पक्राउ परेका छन् । प्रहरीले उनको पसलसहित सामान भण्डारण गरिएका १० वटा गोदाममा समेत सिलबन्दी गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा टाटा गाडीमा प्रयोग हुने पार्टपूर्जा तथा लुब्रिकेन्टस् अवैध रूपमा आयात गरी वास्तविक ब्रान्डका सामानसरह बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । नक्कली सामानको कारोबारबाट उपभोक्तालाई ठगी गर्नुका साथै राज्यलाई ठूलो मात्रामा राजस्व नोक्सानी पुर्याइएको आशंका गरिएको छ ।
अटोमोबाइल क्षेत्रमा हुने नक्कली पार्टपूर्जाको कारोबारलाई प्रहरीले सामान्य आर्थिक अपराधका रूपमा मात्र नहेरी मानव जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर अपराधका रूपमा लिनुपर्ने अवस्था देखिएको छ ।
ब्रेक, सस्पेन्सन, इन्जिन, स्टेयरिङलगायत सवारीसाधनका महत्वपूर्ण प्रणालीमा गुणस्तरहीन वा नक्कली पार्टपूर्जा प्रयोग भएमा जुनसुकै बेला गम्भीर दुर्घटना निम्तिन सक्छ । सस्तो मूल्यमा नक्कली सामान बिक्री गरेर तत्काल मुनाफा कमाउने व्यवसायीको धन्दाको प्रत्यक्ष मारमा भने उपभोक्ता र सडकमा यात्रा गर्ने सर्वसाधारण पर्न सक्छन् ।
यसरी गुणस्तरहीन पार्टपूर्जाको प्रयोग बढ्दै गएमा सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै मानवीय क्षति, आर्थिक क्षति र सार्वजनिक सुरक्षामाथि गम्भीर असर पर्न सक्ने देखिन्छ ।
नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस् अवैध रूपमा आयात र बिक्री हुँदा सरकारलाई भन्सार, मूल्य अभिवृद्धि कर तथा अन्य शीर्षकबाट प्राप्त हुने राजस्वमा समेत ठूलो क्षति पुग्ने गरेको छ ।
अवैध कारोबार गर्ने समूहले कर तथा भन्सार छल्दै बजारमा सामान पुर्याउँदा वैधानिक रूपमा कर तिरेर व्यापार गरिरहेका व्यवसायीहरू अस्वस्थ प्रतिस्पर्धाको मारमा पर्छन् । परिणामतः इमानदार र कानुनी प्रक्रियाबाट व्यवसाय सञ्चालन गर्ने व्यवसायीको बजार खस्किने तथा उनीहरू व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
पक्राउ परेका सञ्चालक पोते यसअघि पनि राजस्व ठगीसम्बन्धी घटनामा पक्राउ परी कारबाहीमा परेका व्यक्ति रहेको प्रहरी स्रोतले जनाएको छ । पटक–पटक विवादमा पर्दै आएका व्यक्तिमाथि पुनः नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस् कारोबारको आरोप लागेपछि प्रहरीले घटनालाई गम्भीर रूपमा अनुसन्धान अघि बढाएको छ ।
यस घटनाले एउटा पसल र केही गोदाममा मात्र सीमित अवैध कारोबारको प्रश्न उठाएको छैन । नक्कली अटो पार्टपूर्जा नेपालमा कसरी भित्रिन्छन्, कसले आयात गर्छ, कुन–कुन बजारसम्म पुग्छन् र त्यसमा संलग्न सञ्जाल कति ठूलो छ भन्ने विषयमा समेत गम्भीर अनुसन्धान आवश्यक देखिएको छ ।
प्रहरीले देशभर अवैध अटो पार्टपूर्जा तथा लुब्रिकेन्टस् कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा अनुसन्धान तीव्र बनाउने जनाएको छ । तर बनेपामा भेटिएको ठूलो परिमाणको नक्कली सामानको घटनाले आयातकर्ता, वितरक, गोदाम सञ्चालकदेखि खुद्रा बजारसम्म फैलिएको सम्भावित सञ्जालको खोजी गर्नुपर्ने आवश्यकता देखाएको छ ।
नक्कली पार्टपूर्जाको कारोबार रोक्न प्रहरीको कारबाहीसँगै भन्सार, राजस्व अनुसन्धान, वाणिज्य तथा उपभोक्ता संरक्षणसम्बन्धी निकायबीच प्रभावकारी समन्वय आवश्यक छ । अन्यथा एउटा गोदाम सिल गरेर वा केही व्यक्तिलाई पक्राउ गरेर मात्रै बजारमा फैलिएको नक्कली सामानको धन्दा नियन्त्रण गर्न कठिन हुनेछ ।
बनेपाको पछिल्लो कारबाहीले नेपालमा अटोमोबाइल क्षेत्रमा मौलाउँदै गएको नक्कली पार्टपूर्जा र अवैध आयातको गम्भीर तस्वीर बाहिर ल्याएको छ । अब अनुसन्धान पक्राउ परेका व्यक्तिमा मात्र सीमित हुन्छ वा यसको पछाडि रहेको ठूलो कारोबारी सञ्जालसम्म पुग्छ भन्ने विषय महत्वपूर्ण बनेको छ ।






























