सबै सहकारी बदमाश हुँदैनन् : बाढीपीडितको घरदैलोमै पुगेर शुभ किरण सहकारीले बाँड्यो राहत

267
shares

नुवाकोट । सहकारी संस्थाप्रति पछिल्लो समय विभिन्न आरोप र आलोचना भइरहेका बेला सबै सहकारी संस्था गलत हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै शुभ किरण बचत  तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ।

भोटेकोशी नदीमा आएको अचानकको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त परिवारलाई तत्काल राहत आवश्यक रहेको अवस्थालाई मध्यनजर गर्दै सहकारीले खाद्यान्न तथा लत्ताकपडासहितका अत्यावश्यक सामग्री वितरण गरेको हो।सहकारीले बटार र विदुर क्षेत्रमा रहेका १०० घरपरिवारलाई राहत सामग्री वितरण गरेको जनाएको छ। प्रत्येक परिवारलाई करिब ४ हजार ५ सय रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराइएको थियो।

बाढीका कारण दैनिक जीवनयापनमा समस्या परेका परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडालगायतका सामग्री सम्बन्धित पीडितकै घरदैलोमा पुगेर हस्तान्तरण गरिएको सहकारीले जनाएको छ।राहत वितरणका क्रममा सहकारीका प्रतिनिधिहरूले प्रभावित परिवारको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।

बाढी तथा प्राकृतिक विपत्तिको समयमा पीडितलाई राहत आवश्यक पर्ने भए पनि धेरैजसो अवस्थामा राहत सामग्री वितरण गर्दा वास्तविक पीडितसम्म पुग्न नसकेको गुनासो हुने गरेको छ। तर, शुभ किरण बचत  तथा ऋण सहकारी संस्था लिमिटेडले भने सम्बन्धित पीडित परिवारकै हातमा प्रत्यक्ष रूपमा राहत पुर्‍याएको दाबी गरेको छ।सहकारीको यो कार्यले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देशसमेत दिएको छ। सहकारी संस्थाहरूले सदस्य र समुदायप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा शुभ किरण बचत  तथा ऋण सहकारीको राहत वितरण अभियान उदाहरणीय बनेको छ।

प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले गरिएको यो सहयोगले प्रभावित परिवारलाई केही हदसम्म भए पनि दैनिक जीवन सहज बनाउन सहयोग पुगेको बताइएको छ।सहकारीले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

civil hospital
Hams Hospitals