मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि दुई सचिवको बढुवासम्म
वि.सं.२०८३ भदौ २५ बिहीवार
shares
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता, विभिन्न नियुक्ति तथा दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय भएको जानकारी दिएका छन्।
सरकारका अनुसार २०८३ असोज ६ देखि १० गतेसम्म अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। बैठकले उक्त प्रतिनिधिमण्डलको भ्रमणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।
त्यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्नमेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्नसमेत सैद्धान्तिक स्वीकृति दिएको छ। मिटरब्याजका कारण पीडित बनेका नागरिकको समस्या समाधान तथा अनुचित लेनदेन नियन्त्रणका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने उद्देश्यले विधेयक निर्माण प्रक्रिया अघि बढाइने भएको हो।
मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गरेको छ।
यस्तै, शिक्षक सेवा आयोगमा नयाँ नेतृत्व नियुक्त गरिएको छ। आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको छ।
बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
त्यसैगरी सहसचिव उत्तरकुमार खत्रीलाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
यससँगै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय भ्रमण, अन्तरसरकारी वार्ता, मिटरब्याज नियन्त्रणका लागि कानुनी प्रक्रिया, गरिब परिवारको सूची स्वीकृति, शिक्षक सेवा आयोगको नियुक्ति तथा प्रदेश प्रशासनका दुई प्रमुख सचिवको बढुवा र पदस्थापनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।
































