उद्योगमन्त्रीमा दीपक साह सिफारिस, ग्यास अभाव समाधान मुख्य चुनौती

651
shares

काठमाडौं गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको उद्योगमन्त्री पदमा दीपक साहलाई सिफारिस गरिएको छ। पेशाले मेकानिकल इन्जिनियर रहेका साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी–४ का प्रतिनिधिसभा सदस्य हुन्।

साहको नाम यसअघि पनि रास्वपा वृत्तमा चर्चामा आएको थियो। तर उद्योगमन्त्रीका लागि सिफारिस भएका दीपक साह र यसअघि बालेन नेतृत्वको सरकारमा श्रममन्त्री बनेका दीपक साह भने फरक व्यक्ति हुन्।

यसअघि श्रममन्त्री बनेका दीपक साह महोत्तरी–२ का हुन् र पेशाले मेडिकल डाक्टर हुन्। उद्योगमन्त्रीका लागि सिफारिस भएका साह भने सुनसरी–४ का हुन् र मेकानिकल इन्जिनियर हुन्।

गत आमनिर्वाचनमा सुनसरी–४ बाट रास्वपाका उम्मेदवार बनेका साहले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारी मतान्तरले पराजित गरेका थिए। साहले ४२ हजार ७७१ मत प्राप्त गर्दा कार्कीले १६ हजार १८४ मत पाएका थिए। साहको जितको मतान्तर २६ हजार ५८७ रहेको थियो।

राजनीतिमा आउनुअघि साह जलविद्युत् क्षेत्रमा लामो समय कार्यरत थिए। उनीसँग हाइड्रोपावर परियोजनामा करिब २३ वर्ष काम गरेको अनुभव रहेको बताइएको छ। उनले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षकका रूपमा समेत काम गरेका थिए।

शैक्षिक रूपमा साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा बीई गरेका छन्। उनले प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्।

साहको राजनीतिक यात्रा भने छोटो समयमै विभिन्न मोडबाट गुज्रिएको देखिन्छ। उनी केही समय सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट कारबाहीमा परेपछि उनले आफ्नै नेतृत्वमा सर्वोदय पार्टी गठन गरेका थिए। तर आमनिर्वाचनअघि रास्वपा प्रवेश गरेका साहले सुनसरी–४ बाट उम्मेदवारी पाएका थिए।

अब उद्योगमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका साहसामु तत्कालै समाधान गर्नुपर्ने चुनौती पनि छन्। विशेषगरी पछिल्लो समय देखिएको ग्यास अभाव समाधान गर्नु उनको पहिलो प्राथमिकतामा पर्ने देखिन्छ।

ग्यास अभावकै विषयमा दबाब बढेपछि यसअघिकी उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएको अवस्थामा नयाँ मन्त्रीका रूपमा साहमाथि आपूर्ति व्यवस्था सहज बनाउने र उद्योग मन्त्रालयसँग सम्बन्धित अन्य चुनौती व्यवस्थापन गर्ने दबाब रहनेछ।

लामो समय प्राविधिक तथा जलविद्युत् क्षेत्रमा काम गरेको अनुभव भएका साहले उद्योग मन्त्रालयको जिम्मेवारीमा आफ्नो प्राविधिक दक्षतालाई कसरी प्रयोग गर्छन् भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ।

civil hospital
Hams Hospitals