राहत सामग्री रोकिएपछि रेडक्रसमा आक्रोश : विपत्तिका बेला विदेशी सहयोगसमेत सहज रूपमा लैजान नदिएको आरोप

141
shares

काठमाडौं । नेपालमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला अन्तर्राष्ट्रिय रेडक्रसबाट प्राप्त राहत सामग्री सम्बन्धित पीडितसम्म पुर्‍याउने क्रममा अवरोध सिर्जना भएको भन्दै नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्।

अन्तर्राष्ट्रिय रेडक्रसले नेपालमा आएको विपत्तिलाई लक्षित गर्दै पठाएको विभिन्न राहत सामग्री नेपाल रेडक्रस सोसाइटीले आफ्नै सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा लैजाने तयारी गरेको थियो। त्यसका लागि बिहीबार राति नै विमानस्थलमा गाडीमा राहत सामग्री लोड गरिएको थियो।तर, सामान लोड गरिसकेपछि नेपाल आर्मीले पुनः अनुरोध गर्न लगाउँदै गाडीलाई त्यहाँबाट अघि बढ्न नदिएको रेडक्रसका केही कर्मचारीहरूले बताएका छन्।

विमानस्थलमा खटिएका रेडक्रसका कर्मचारीहरूले ‘यी सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने भएकाले किन रोकिएको?’ भनेर प्रश्न गर्दा आर्मीका अधिकारीहरूले ‘माथिको आदेश’ भन्दै सामान लैजान रोकिएको जवाफ दिएको उनीहरूको भनाइ छ।विपत्तिका बेला पीडितका लागि आएको राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउनुपर्ने अवस्थामा सरकारी निकायबीचको समन्वय अभाव वा आदेशका कारण त्यस्ता सामग्री रोकिनु गम्भीर विषय हो।

अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त सामग्रीसमेत समयमै गन्तव्यमा पुर्‍याउन नसक्ने अवस्था सिर्जना हुनु केवल व्यवस्थापकीय कमजोरीको विषय नभई नेपालप्रति सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायलाई जाने सन्देशसँग समेत जोडिएको छ।विशेषगरी विपद्का बेला नेपाललाई सहयोग गर्न आएका अन्तर्राष्ट्रिय संस्थाले पठाएको राहत सामग्री विमानस्थलमै रोकिने र सम्बन्धित निकायले सहज रूपमा प्रभावित क्षेत्रमा लैजान नपाउने अवस्था देखिनुले नेपालको विपद् व्यवस्थापन प्रणालीमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ।

यस घटनाले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व र व्यवस्थापन क्षमतामाथि पनि प्रश्न खडा गरेको छ। राहत वितरणका लागि आएको सामग्रीसमेत सहज रूपमा परिचालन गर्न नसक्ने अवस्था आउनुमा रेडक्रस नेतृत्वले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकेको छ कि छैन भन्ने प्रश्न उठेको छ।नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विशाल भण्डारीको नेतृत्वमा रहेको संस्थाले यस्ता संवेदनशील विषयमा सरकारका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरेर राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्‍याउने वातावरण बनाउनुपर्नेमा उल्टै सामग्री रोकिएको अवस्थाले नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।

यतिबेला बाढीपहिरोका कारण नागरिकहरू राहतको पर्खाइमा छन्। यस्तो अवस्थामा विदेशबाट आएको सहयोग विमानस्थलमै थन्किने र पीडितसम्म पुर्‍याउन प्रशासनिक तथा सुरक्षा अवरोध सिर्जना हुने हो भने विपद् व्यवस्थापनको वास्तविक अवस्था के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।सरकारले यदि वास्तवमै कुनै सुरक्षा वा प्रशासनिक कारणले राहत सामग्री रोक्न निर्देशन दिएको हो भने त्यसको स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने देखिन्छ। अन्यथा ‘माथिको आदेश’ भन्दै मानवीय सहयोगसमेत रोक्ने प्रवृत्तिले सरकार र सम्बन्धित निकायप्रति मात्र होइन, नेपाललाई सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरूप्रति समेत नकारात्मक सन्देश जाने जोखिम छ।

विशाल भण्डारीले डुबाए रेडक्रस, दातृ निकाय पनि क्रुद्ध

विपत्तिमा राजनीति, प्रक्रिया र आदेशभन्दा पीडितको जीवन पहिलो प्राथमिकता हुनुपर्ने हो। विदेशी सहयोगले पठाएको राहत सामग्री नै पीडितसम्म पुग्न नदिने अवस्था हो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अब गम्भीर रूपमा उठेको छ।

 

 

civil hospital
Hams Hospitals