४१ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ अधिकृतको सरुवा, विभिन्न स्थानीय तहमा जिम्मेवारी हेरफेर

480
shares

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४१ जना प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।

मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा सरकारी निकायमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा तथा कामकाजमा खटाइएकामध्ये ४१ जना विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेका छन्। उनीहरूमध्ये केहीलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने केहीलाई संघीय सरकारअन्तर्गतका विभिन्न निकायमा सरुवा गरिएको छ।

मन्त्रालयका अनुसार केही अधिकृतलाई गृह मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, राष्ट्रिय किताबखाना तथा सूचना तथा सञ्चार मन्त्रालयलगायतका निकायमा सरुवा गरिएको छ।

त्यस्तै, विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत कार्यालय तथा अन्य सरकारी निकायमा कार्यरत शाखा अधिकृत तथा प्रशासकीय अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजमा खटाइएको छ।

सरुवा सूचीमा रहेका अधिकांश कर्मचारी नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणीका प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत तथा प्रशासकीय अधिकृत रहेका छन्। सूचीमा नेपाल न्याय सेवा, न्याय समूहका एक जना प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्।

मन्त्रालयको निर्णयसँगै विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीसमेत परिवर्तन भएको छ। यसले स्थानीय तहको प्रशासनिक नेतृत्वमा समेत व्यापक हेरफेर भएको छ।

मन्त्रालयले कर्मचारीको आवश्यकता, प्रशासनिक व्यवस्थापन तथा कामकाजको सहजताका आधारमा सरुवा तथा जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।

civil hospital
Hams Hospitals