विश्वकर्मा बाबा तत्कालीन समयका महान् इन्जिनियर थिए : डा.माधव भट्टराई

174
shares

 

काठमाडौं । सवारीसाधन, कलकारखाना, उद्योग तथा विभिन्न मेसिनरी उपकरणको पूजाआजा गर्दै आज विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्व श्रम, सीप, प्रविधि र निर्माण कार्यप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा लिइन्छ ।

 

यस अवसरमा उद्योग, कलकारखाना र निर्माणस्थलमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरी धूप, दीप, चन्दन, अक्षता, फूल र नैवेद्य अर्पण गरेर पूजा गर्ने तथा प्रसाद वितरण गर्ने परम्परा रहेको छ ।

 

संस्कृतिविद् डा. माधव भट्टराईका अनुसार हिन्दू परम्परामा विश्वकर्मालाई भगवानको एक स्वरूप तथा निर्माणकलाका आदिपुरुषका रूपमा मानिन्छ । प्राचीन कालमा नगर, भवन तथा ठूला निर्माण कार्यसँग विश्वकर्माको नाम जोडिने भएकाले उनलाई तत्कालीन समयका महान् इन्जिनियरका रूपमा पनि स्मरण गर्ने गरिएको उनले बताए ।

 

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले विश्वकर्मा पूजा विशेषगरी उद्योग, कलकारखाना, फ्याक्ट्री र निर्माण क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए । ‘विश्वकर्मा भनेको भगवानकै एउटा स्वरूप हो । ठूलठूला निर्माण, नगर र भवन निर्माण गर्ने उहाँलाई उतिखेरको सबैभन्दा ठूलो इन्जिनियरका रूपमा पनि लिइन्छ । उहाँको सम्झनामा आश्विन १ गते उद्योग, कलकारखाना र फ्याक्ट्रीमा पूजा गरिन्छ,‘ उनले भने ।

 

उनका अनुसार यो पूजा धर्मकर्ममा मात्र सीमित छैन । श्रम, सीप, ज्ञान र सिर्जनशील कार्यप्रतिको सम्मान व्यक्त गर्दै आफूले गर्ने काम सफल होस, उद्योग–व्यवसाय प्रगति गरून् र कार्यस्थल सुरक्षित रहोस् भन्ने कामनाका साथ पूजा गर्ने चलन रहेको छ । ‘उहाँबाट प्रेरणा लिने, उहाँको कला, सीप र ज्ञान हामीमा प्राप्त होस, हाम्रा कर्म सफल होऊन् र हाम्रा उद्योगधन्दा प्रगति गरून् भन्ने कामनाले विश्वकर्मा पूजा गरिन्छ,‘ उनले भने ।

 

विश्वकर्मालाई कतिपयले जातिसँग जोडेर हेर्ने गरे पनि त्यसको आधार धार्मिकभन्दा व्यावहारिक रहेको डा. भट्टराईको भनाइ छ । निर्माण, हातहतियार तथा कलकारखानामा काम गर्ने समुदायसँग विश्वकर्माको नाम जोडिए पनि धार्मिक दृष्टिले उनी भगवानकै स्वरूपका रूपमा पूजिने उनले बताए ।

 

उनका अनुसार विश्वकर्मा पूजाका लागि अन्य ठूला धार्मिक अनुष्ठानजस्तो विस्तृत शास्त्रीय विधि अनिवार्य छैन । सामान्य पूजा पद्धतिबाट पनि विश्वकर्माको आराधना गर्न सकिने उनले बताए । नेपालका विभिन्न भूगोल र समुदायमा पूजा गर्ने शैलीमा केही भिन्नता पाइने भए पनि यसको मूल भावना भने एउटै रहेको उनले उल्लेख गरे ।

 

‘तराईमा अलि फरक ढङ्गले हुन्छ, पहाडमा अलि फरक हुन्छ । ठाउँ, समाज र परम्पराअनुसार शैली फरक भए पनि मूल कुरा एउटै हो,‘ उनले भने । विश्वकर्मा पूजाका अवसरमा आज देशभरका उद्योग, ग्यारेज, यातायात कम्पनी, निर्माणस्थल तथा कार्यशालामा आफ्ना औजार, उपकरण र कार्यस्थलको पूजा गर्दै काममा सफलता, सुरक्षा र समृद्धिको कामना गरिएको छ ।

civil hospital
Hams Hospitals