असोजमा मुद्दती निक्षेपको ब्याजदर घट्यो, हेर्नुहोस् कुन बैंकको कति
वि.सं.२०८३ असोज १ बिहीवार
shares
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । असोज १ गतेदेखि लागू हुने नयाँ ब्याजदरअनुसार चारवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०४ प्रतिशत बिन्दुले घटेर ४.०९ प्रतिशतमा झरेको छ । भदौ महिनामा यस्तो औसत ब्याजदर ४.१३ प्रतिशत रहेको थियो ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि सामान्य घटेको छ । संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ०.०१ प्रतिशत बिन्दुले घटेर ३.०७ प्रतिशतमा कायम भएको छ । भदौमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत थियो ।
चार बैंकले घटाए व्यक्तिगत मुद्दतीको ब्याज
असोजका लागि एभरेष्ट बैंक,कुमारी बैंक स्ट्यान्डर्ड चार्टर बैंक र नविल बैंक ले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.०५ प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ । यो ०.५५ प्रतिशत बिन्दुको कमी हो ।
कुमारी बैंकले ३.७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशत कायम गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.५० प्रतिशतबाट ३.४५ प्रतिशत र नबिल बैंकले ४.५५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा झारेको छ ।
अधिकांश बैंकले ब्याजदर यथावत् राखे
असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।
नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनआईएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन् ।
संस्थागत निक्षेपमा सानिमाको ब्याज बढ्यो
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेको अवस्थामा संस्थागत निक्षेपतर्फ भने केही फरक देखिएको छ ।
सानिमा बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ३.३० प्रतिशतबाट बढाएर ३.५१ प्रतिशत पुर्याएको छ । यसले संस्थागततर्फ सबै बैंकको ब्याजदर स्थिर वा घटेको भन्ने अवस्था नरहेको देखाउँछ ।
नबिलको ब्याजदर सबैभन्दा उच्च
असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नबिल बैंकले दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
समग्रमा बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर घट्दो क्रममा देखिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४ प्रतिशतको आसपास झरेसँगै बचतकर्ताले मुद्दती निक्षेपबाट पाउने प्रतिफल पनि क्रमशः घट्दै गएको देखिन्छ ।































