साझा बसमा डिजिटल टिकटिङ सुरु : असोज ३ देखि रात्रि बस सेवा विस्तार, ललितपुरमा पर्यटकलाई निःशुल्क सटल बस चलाइने

216
shares

 

काठमाडौं । साझा यातायातले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल टिकटिङ तथा कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा सेवाको शुभारम्भ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख डंगोलले आगामी संविधान दिवस (असोज ३ गते) देखि उपत्यकामा रात्रि बस सेवा विस्तार गरिने घोषणा गरिन् । गत वैशाख १ गतेदेखि काठमाडौं, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ गरी चार पालिकाको सहकार्यमा सुरु गरिएको दुईवटा रुटको रात्रि सेवा अब ६ वटा रुटमा सञ्चालन हुने उनले बताइन् ।

‘पहिलो ९० दिनको परीक्षणमा ६७ हजारभन्दा बढी यात्रुले रात्रि सेवा लिनुभएको छ । अब भक्तपुर, सूर्यविनायक र गोदावरी लगायतका पालिकाहरूलाई समेटेर ६ वटा रुटमा रात्रि बस सेवा विस्तार गर्दैछौँ,’ डंगोलले भनिन् । परीक्षणकालमा करिब १० लाख रुपैयाँ घाटा देखिएको उल्लेख गर्दै उनले राजस्व चुहावट (लिकेज) नियन्त्रण गर्न डिजिटल भुक्तानी प्रणाली कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन् ।

त्यसैगरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पर्यटन प्रवद्र्धनका लागि दसैँअगावै सम्पदा क्षेत्रमा निःशुल्क विद्युतीय ’सटल बस’ सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । पुल्चोक तथा पाटनढोकाबाट सुरु भई पाटन दरबार स्क्वायर, महाबौद्ध, लगनखेल हुँदै घुम्ने गरी वातावरणमैत्री हरियाली बस चलाउन लागिएको उनले बताए ।

‘पाटन दरबार स्क्वायर आउने पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी यो विद्युतीय सटल बस पूर्णतः निःशुल्क सञ्चालन गरिनेछ,’ महर्जनले भने । यसका साथै ललितपुर महानगरपालिकाले वातावरण प्रदूषण न्यूनीकरणका लागि अब उप्रान्त कुनै पनि जीवाश्म इन्धन (डिजेल/पेट्रोल) बाट चल्ने सवारी साधन खरिद नगर्ने नीतिगत निर्णय गरेको समेत उनले स्पष्ट पारे ।

सार्वजनिक यातायातलाई व्यवस्थित, आधुनिक र प्रदूषणमुक्त बनाउन उपत्यकाका स्थानीय तहहरू साझा यातायातसँग दीर्घकालीन सहकार्य गर्न प्रतिबद्ध रहेको दुवै नगरप्रमुखले बताए ।

civil hospital
Hams Hospitals