सिप्रदी यात्रीद्वारा नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको ‘यात्री एद्द’ स्कुटरको मूल्य सार्वजनिक
वि.सं.२०८३ असोज २ शुक्रवार
shares
काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गर्ने नयाँ फुल–स्ट्याक इलेक्ट्रिक स्कुटर ‘यात्री एद्द’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एद्दको सुरुवाती मूल्य रु. ३ लाख २९ हजार ९ सय निर्धारण गरिएको छ।
नेपालका विविध भौगोलिक अवस्था र चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर विकास गरिएको एद्द शहरी आवतजावतमा मात्र सीमित नभई उकालो–ओरालो, घुम्ती सडक, दैनिक ट्राफिक तथा लामो दूरीका यात्रालाई समेत लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ।
एद्दमा कार्यक्षमता, रेन्ज, चार्जिङ सुविधा, स्मार्ट कनेक्टिभिटी र राइडरकेन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ। ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार ब्याट्री क्षमता, रङ, कम्फर्ट तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्।
एद्दमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ, जसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा निरन्तर कार्यक्षमता कायम राख्न सहयोग गर्ने बताइएको छ।उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्राले विभिन्न सडकमा स्थिरता र नियन्त्रण कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ। डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम पनि स्कुटरमा उपलब्ध छन्।
एद्द तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ।
- ३.० kWh ब्याट्री – वास्तविक शहरी अवस्थामा ९० किलोमिटरसम्म रेन्ज
- ३.७ kWh ब्याट्री – वास्तविक शहरी अवस्थामा ११२ किलोमिटरसम्म रेन्ज
- ५.२ kWh ब्याट्री – वास्तविक शहरी अवस्थामा १५७ किलोमिटरसम्म रेन्ज
थप रेन्ज आवश्यक पर्ने ग्राहकका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ।एद्दमा इन्स्टल्ड अनबोर्ड चार्जर राखिएको छ। यसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोक्नुपर्ने आवश्यकता नपर्ने कम्पनीको भनाइ छ।
ब्याट्री कन्फिगरेसनअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिनेछ। लामो दूरीको यात्रा वा छिटो चार्ज आवश्यक पर्ने अवस्थामा एद्दले फास्ट चार्जिङसमेत सपोर्ट गर्नेछ। तोकिएको चार्जिङ अवस्थामा करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।शहरबाहिर यात्रा गर्ने ग्राहकलाई लक्षित गर्दै सिप्रदी यात्रीले देशभर चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ।
एद्दमा ७–इन्चको TFT डिस्प्ले उपलब्ध छ। यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा रहेको कम्पनीले जनाएको छ। डिस्प्लेमार्फत नेभिगेसन तथा आवश्यक राइडिङ जानकारी हेर्न सकिन्छ।इन्टिग्रेटेड सेन्सरमार्फत कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल–टाइममा प्राप्त गर्न सकिनेछ।कनेक्टेड आर्किटेक्चरमार्फत स्कुटर यात्रीको नेटवर्कसँग जोडिइरहनेछ। मोबाइल एपबाट लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना स्कुटर सञ्चालन गर्न सकिने सुविधा पनि एद्दमा समावेश गरिएको छ।एद्दमा विभिन्न सडक र राइडिङ अवस्थाअनुसार स्कुटरको अनुभव आफूअनुकूल बनाउन मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड तथा मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्।शहरी ट्राफिक तथा लामो यात्राका क्रममा हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधाले राइडिङलाई सहज बनाउने कम्पनीको भनाइ छ।रिजेनेरेटिभ ब्रेकिङले गति घटाउने क्रममा केही ऊर्जा पुनः विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्नेछ।
एद्दमा एलईडी हेडलाम्पसहितका सुरक्षा तथा प्रकाशसम्बन्धी सुविधा छन्। रिजेन–रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आउने सवारीलाई त्यसको संकेत दिने कम्पनीले जनाएको छ।कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुविधा पनि उपलब्ध हुनेछन्।एद्दलाई ग्राहकको आवश्यकता र रुचिअनुसार कन्फिगर गर्न सकिने गरी विकास गरिएको छ। अनलाइन कन्फिगुरेटरमार्फत ग्राहकले स्कुटरको रङ, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्।
ग्राहकले अर्डर गर्नुअघि आफूलाई आवश्यक कन्फिगरेसन तयार गरी उपलब्ध विकल्पको अनुभवसमेत लिन सक्ने कम्पनीले जनाएको छ।काठमाडौंको टेकुमा रहेको सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। त्यहाँ ग्राहकले एद्दलाई प्रत्यक्ष अनुभव गर्नुका साथै टेस्ट राइड र बुकिङ गर्न सक्नेछन्।
कम्पनीका अनुसार ३.७ kWh र ५.२ kWh भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुनेछ। अन्य भेरियन्टको डेलिभरी भने डिसेम्बर २०२६ देखि सुरु गर्ने तालिका रहेको छ।
सिप्रदी यात्रीका अनुसार एद्द कम्पनीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम हो। यसमा भेहिकल इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा एकीकृत गरिएको छ।
नेपालकै सडक, भूगोल र सञ्चालन अवस्थालाई ध्यानमा राखेर विकास गरिएको एद्दमार्फत स्थानीय आवश्यकताअनुकूल विद्युतीय मोबिलिटी निर्माण गर्न सकिने र विश्व बजारका लागि आवश्यक प्रविधि तथा कार्यक्षमता पनि समेट्न सकिने कम्पनीले जनाएको छ।





























