४१४ नायब सुब्बाको सरुवा, विभिन्न मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर
वि.सं.२०८३ असोज ३ शनिवार
shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा नायब सुब्बा (नासु)हरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले २०८३ असोज ३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका ४१४ जना कर्मचारीको सरुवा तथा कामकाज व्यवस्थापन गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मन्त्रालय, विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, स्थानीय तहलगायतका निकायमा कार्यरत नायब सुब्बाहरूको जिम्मेवारी हेरफेर गरिएको छ।
सरुवा हुने कर्मचारीमध्ये केहीलाई गृह मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सूचना तथा सञ्चार मन्त्रालय, पूर्वाधार विकास मन्त्रालयलगायतका मन्त्रालय तथा विभागमा पठाइएको छ। त्यस्तै, विभिन्न मातहतका कार्यालय तथा स्थानीय तहमा समेत कर्मचारी खटाइएको छ।
मन्त्रालयको निर्णयअनुसार केही कर्मचारीलाई मन्त्रालयको अतिरिक्त समूहमा समेत ल्याइएको छ। कतिपय कर्मचारीलाई भने सम्बन्धित मन्त्रालय तथा विभागअन्तर्गतका कार्यालयमा कामकाजका लागि खटाइएको छ।
एकै दिनमा फरक–फरक निर्णय विवरणमार्फत ठूलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरिएको देखिएको छ। पछिल्लो निर्णयमा समेत विभिन्न निकायमा कार्यरत नायब सुब्बाहरूलाई संघीय मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा जिम्मेवारी तोकिएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकता, कार्यालयको कार्यचाप तथा कर्मचारी व्यवस्थापनलाई आधार बनाएर सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको जनाएको छ। ४१४ जना नायब सुब्बाको एकैपटक गरिएको सरुवाले संघीय प्रशासनका विभिन्न निकायमा कर्मचारी व्यवस्थापनमा व्यापक फेरबदल भएको छ।





























