लोककल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण

450
shares

काठमाडौं लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम कार्यविधि संशोधनका नाममा कटौती गरिएको विषयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटी लोककल्याणकारी विज्ञापनको रकम कटौतीका कारण छापा सञ्चारमाध्यममा परेको असरबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको हो ।

टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायतको सहभागिता थियो ।

त्यस्तै, शाखाद्वारा गठित **‘छापा माध्यम बचाउ सुझाव कार्यदल’**का सदस्यहरू टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल र कल्पना खड्कासहित वरिष्ठ पत्रकारहरू पनि टोलीमा सहभागी थिए ।

कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । साथै, आर्थिक संकटमा रहेका साना लगानीका, स्वरोजगार तथा छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीतिगत पहल गर्न आग्रह गरिएको छ ।

पत्रकार महासंघको टोलीले लोककल्याणकारी विज्ञापन छापा सञ्चारमाध्यमको आर्थिक निरन्तरता र पत्रकारिता क्षेत्रको संरक्षणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले रकम कटौतीले विशेषगरी साना तथा स्वरोजगारमूलक प्रकाशनहरू प्रभावित हुने जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले सञ्चारमाध्यमले लोकतन्त्र, सुशासन र जनताको आवाज प्रवाहमा निर्वाह गर्दै आएको भूमिकाबारे आफू जानकार रहेको बताउँदै विषयलाई गम्भीरतापूर्वक लिने धारणा राखेको टोलीले जनाएको छ ।

civil hospital
Hams Hospitals