अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा रहेको अर्थसचिव उपाध्यायको दाबी

537
shares

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले चुनौती र सुधारको सम्भावनाबीच रहेको बताएका छन्। अर्थतन्त्रका केही सूचक कमजोर रहे पनि वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको दाबी छ।

नेपाली युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरले आयोजना गरेको ‘थिंक ट्यांक सिरिज’को पहिलो कार्यक्रममा नेपालको समग्र आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रका चुनौती तथा आगामी आर्थिक दिशाबारे धारणा राख्दै अर्थसचिव उपाध्यायले यस्तो बताएका हुन्।

उनका अनुसार नेपालको आर्थिक वृद्धिदर लामो समयदेखि अपेक्षाकृत सुस्त रहँदै आएको छ। पछिल्ला २५ देखि ४० वर्षको औसत आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै उनले कोभिड–१९ महामारीका क्रममा आर्थिक वृद्धि ऋणात्मकसमेत भएको बताए।

अर्थसचिव उपाध्यायले कमजोर निजी लगानी, घट्दो पूँजीगत खर्च, उच्च व्यापार घाटा र न्यून उत्पादकत्वलाई नेपालको अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। स्वदेशी निजी लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउन लगानीको वातावरणमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।

उनले सरकारको पूँजीगत खर्च प्रभावकारी रूपमा परिचालन गर्न सके रोजगारी सिर्जना, आर्थिक वृद्धि र निजी लगानी विस्तारमा सकारात्मक प्रभाव पार्न सक्ने बताए। नेपालको वैदेशिक व्यापार संरचना असन्तुलित रहेको उल्लेख गर्दै करिब ९० प्रतिशत आयात र १० प्रतिशत निर्यातको अवस्थालाई परिवर्तन गर्न उत्पादन र निर्यात बढाउनुपर्नेमा उनले जोड दिए।

अर्थसचिव उपाध्यायले नेपालको अर्थतन्त्रमा चुनौतीसँगै केही सकारात्मक पक्षसमेत रहेको बताए। रेमिट्यान्समा वृद्धि, जलविद्युत् क्षेत्रको विस्तार, मध्यम मुद्रास्फीति, न्यून ब्याजदर र पर्याप्त तरलतालाई उनले अर्थतन्त्रका सकारात्मक सूचकका रूपमा व्याख्या गरे।

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को करिब ४३ प्रतिशत रहेको उल्लेख गर्दै उनले सार्वजनिक ऋणलाई उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र पूर्वाधार विकासमा उपयोग गर्नुपर्ने बताए।

उनका अनुसार विदेशबाट प्राप्त रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके रोजगारी सिर्जना र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुग्न सक्छ।

सरकारले अघि बढाएको वैकल्पिक विकास वित्त कोषमार्फत सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए।

नेपालले जलविद्युत् उत्पादनलाई औद्योगिकीकरणसँग जोड्नुपर्नेमा जोड दिँदै उपाध्यायले वैदेशिक रोजगारीलाई समेत सीप र उच्च आम्दानीमा आधारित बनाउनुपर्ने बताए। आर्थिक विकासका लागि सुशासन, लगानीमैत्री वातावरण र प्रभावकारी सार्वजनिक सेवा आवश्यक रहेको उनको भनाइ थियो।

उनले नेपालको अर्थतन्त्रका विद्यमान सबल पक्षलाई उत्पादन, उत्पादकत्व, रोजगारी र औद्योगिकीकरणमा रूपान्तरण गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष आभुषणज्योति कंशाकारले मुलुकमा नीति निर्माण गर्दा धनी र गरिब दुई वर्गलाई मात्र केन्द्रमा राख्ने प्रवृत्ति रहेको भन्दै मध्यम वर्गका उद्यमी तथा व्यवसायीका समस्यालाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले पछिल्लो समय मध्यम वर्गका व्यवसायीहरू विभिन्न कारणले आर्थिक संकटमा परेको बताए। उनका अनुसार जेनजी आन्दोलन र भोटेकोशी बाढीका कारण कतिपय व्यवसायीको सम्पत्ति तथा व्यवसायमा ठूलो क्षति पुगेको छ।

“अहिले मध्यम वर्गका उद्यमी व्यवसायीहरू धेरै पीडित छन्। जेनजी आन्दोलन र भोटेकोशी बाढीले उनीहरूसँग भएको सम्पत्ति पनि लगेको छ। बीमाले भुक्तानी दिएको छैन भने भएको सम्पत्ति पनि बैंकले धितोका रूपमा राखेको छ। थप लगानी गर्न उनीहरूसँग पुँजी छैन,” कंशाकारले भने।

उनले यस्तो अवस्थामा सरकारले मध्यम वर्गका व्यवसायीलाई पुनः व्यवसायमा फर्कन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए। व्यवसाय पुनर्स्थापना, लगानीको पहुँच र वित्तीय समस्यालाई सम्बोधन नगरे मध्यम वर्गका उद्यमीहरू थप संकटमा पर्न सक्ने उनको भनाइ थियो।

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरका अध्यक्ष अनुकुल श्रेष्ठले सरकारका नीति तथा युवा उद्यमीका सरोकार र समस्याबीच ठूलो खाडल रहेको बताए।

नीति निर्माण तहमा युवा उद्यमीका वास्तविक समस्या र व्यवसायिक क्षेत्रका अनुभवलाई पर्याप्त रूपमा समेट्न आवश्यक रहेको भन्दै उनले यही उद्देश्यले ‘थिंक ट्यांक सिरिज’ सुरु गरिएको जानकारी दिए।

उनका अनुसार पहिलो कार्यक्रममार्फत अर्थतन्त्र, लगानी, निजी क्षेत्र र युवा उद्यमीका समस्याबारे नीतिनिर्माण तहसँग प्रत्यक्ष संवादको सुरुवात गरिएको हो।

“सरकारको पोलीसी र युवा उद्यमीहरूको सरोकार र समस्याबीच ठूलो खाडल छ। यही खाडल पूर्ति गर्न थिंक ट्यांक सिरिज आवश्यक छ,” श्रेष्ठले भने।

उनले आगामी दिनमा पनि विभिन्न विषयमा विज्ञ, नीतिनिर्माता तथा निजी क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याएर नीतिगत बहसलाई निरन्तरता दिने बताए।

कार्यक्रममा नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रको लगानी, उद्यमशीलताको वातावरण, वित्तीय पहुँच, बाढी तथा अन्य संकटबाट प्रभावित व्यवसायको पुनर्स्थापना र युवा उद्यमीका नीतिगत सरोकारबारे छलफल गरिएको थियो। पहिलो शृंखलाबाट सुरु भएको यो बहसलाई आगामी दिनमा थप विषय र सरोकारवालासहित निरन्तर अघि बढाउने आयोजकले जनाएको छ।

civil hospital
Hams Hospitals