बीमा क्षेत्रको नियमक निकायमा बसेर बीमा कम्पनीको शेयर लिने यी उच्च अधिकारी
वि.सं.२०८३ असोज ५ सोमवार
shares
काठमाडौं । नेपालको बीमा क्षेत्रमा नियमन गर्ने निकायमा उच्च जिम्मेवारी सम्हालेका तथा विभिन्न बीमा कम्पनीको नेतृत्व गरेका व्यक्तिहरू नै निजी बीमा सेवा प्रदायक कम्पनीका शेयरधनी रहेका छन् ।
इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिस प्कम्पनीको शेयर संरचनालाई लिएर प्रश्न उठेको छ। उक्त कम्पनीमा ५९ जना शेयरधनी रहेका छन् ।
कम्पनीको शेयर विवरणसम्बन्धी प्राप्त कागजातअनुसार तत्कालीन बीमा नियामक नेतृत्वमा रहेका केही व्यक्तिसँग उक्त कम्पनीको शेयर सम्बन्ध रहेको छ।
बीमा क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका फक्तबहादुर केसीको परिवारका सदस्यको नाममा २ हजार ५०० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ। केसीले नेपाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै, लामो समय बीमा प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा काम गरेका राजुरमण पौडेलको नाममा समेत २ हजार ५०० कित्ता शेयर रहेको छ।
इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिस प्रालिको शेयर संरचनामा बीमा कम्पनीका नेतृत्व तहमा रहेका व्यक्तिहरूको नामसमेत जोडिएको छ ।
नेपाल इन्स्योरेन्सका अध्यक्ष चन्द्रसिंह साउदको नाममा २ हजार ५०० कित्ता शेयर रहेक छ।
त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री पौडेलको नाममा ५ हजार ५०० कित्ता शेयर रहेको विवरण छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहको नाममा १० हजार कित्ता शेयर छ । उक्त शेयर उनी कम्पनीको प्रमुख कार्यकारीका रूपमा कार्यरत रहेकै अवधिदेखिको हो ।
त्यसैगरी नेपाल इन्स्योरेन्समा कार्यरत अन्जन ढकालको नाममा ५ हजार कित्ता शेयर छ।
बीमा क्षेत्रका एक जानकारका अनुसार विभिन्न बीमा कम्पनीबाट व्यवसाय उक्त निजी कम्पनीतर्फ जाने र त्यसबाट सेवा शुल्क वा कमिसनको कारोबार हुने अवस्था भएमा शेयरधनीको व्यक्तिगत स्वार्थ र आफू आबद्ध बीमा कम्पनीको संस्थागत हितबीच द्वन्द्व हुन सक्ने जोखिम रहन्छ।
बीमा क्षेत्रको नियमन गर्ने निकायका पूर्व पदाधिकारीहरू निजी कम्पनीमा लगानीकर्ता हुनु आफैंमा स्वार्थमा काम भएको हुन सक्छ ।
बीमा कम्पनीमा सर्वसाधारणको ठूलो रकम र दीर्घकालीन जोखिम जोडिएको हुन्छ। त्यसैले नियामक, बीमा कम्पनी र बीमा क्षेत्रमा सेवा दिने निजी कम्पनीबीचको सम्बन्ध पारदर्शी हुनु आवश्यक हुन्छ।
यदि एउटै व्यक्तिले नियामक निकायमा बसेर बीमा क्षेत्रको नीति तथा नियमनमा भूमिका खेलेको, त्यसपछि वा त्यस अवधिमै बीमा कम्पनीसँग कारोबार गर्ने निजी कम्पनीमा प्रत्यक्ष वा परिवारका सदस्यको नाममा लगानी गरेको प्रमाणित हुन्छ भने त्यसको कानुनी हैसियतसँगै हितको द्वन्द्वसम्बन्धी प्रश्न पनि उठ्न सक्छ।






























